उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा पूर्ण र आंशिक गरी अहिलेसम्म ६२ हजार १२ वटा घरमा क्षति पुगेको छ ।
जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लामा आंशिक रुपमा ३५ हजार चार सय ५५ र पूर्णरुपमा २६ हजार पाँच सय ५७ घरमा क्षति भएको गृहमन्त्रालय अन्तर्गतकाे राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख छ ।
भूकम्पबाट जाजरकोट, रुकुम, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा क्षति पुगेको छ । पूर्ण र आंशिक क्षति भएका दुवैथरी घर बस्न मिल्ने नभएपछि पीडितहरु अहिले पनि खुला ठाउँमा टेन्ट र पाल टाँगेर बसिरहेका छन् ।
जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र दुई सय ८ वटा विद्यालय भवनमा क्षति भएको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा क्षति पुगेको छ ।
स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि सेवा प्रवाहमा समस्या छ । भूकम्पबाट दुई सय आठ वटा विद्यालयमा क्षति पुगेपछि विद्यार्थी पनि समस्यामा परेका छन् । दशैँ–तिहार पर्वका कारण बिदा भएका विद्यालय अब खुल्नेछन्, तर क्षति भएका विद्यालयमा कसरी पठनपाठन गर्ने समस्या भएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा झण्डै २२ हजार सात सय र रुकुम पश्चिममा १७ हजार तीन सय गरी ४० हजारभन्दा धेरै विद्यार्थी प्रभावित भएका छन् । भूकम्पका कारण बढ्दो मनोसामाजिक समस्यालाई समाधान गर्न सामाजिक विकास मन्त्रालयले जाजरकोट र रुकुमपश्चिममा मनोविमर्शकर्ता पनि परिचालन गरेको छ ।
जाजरकोटमा २१ र रुकुमपश्चिममा १३ जना मनोविमर्शकर्ता परिचालन गरिएको हो । जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते भूकम्प गएको थियो । भूकम्पबाट एक सय ५४ जनाले ज्यान गुमाएका थिए । तीन सय ६६ जना घाइते भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।