बचत फिर्ताको माग गर्दै खोटाङको लालुपाते सहकारी विरुद्ध २६५ बचतकर्ताले दिए उजुरी

 मंसिर ९, २०८० शनिबार १४:५:३९ | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेलमा रहेको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका दुई सय ६५ बचतकर्ताले बचत फिर्ताको लागि उजुरी दिएका छन् । सहकारीको बचत अपचलन भएको विषयमा सञ्चालक समितिका पदाधिकारी सहित नौ जनालाई पक्राउ गरेर कारबाही प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले उजुरी दिन आह्वान गरेपछि दुई सय ६५ बचतकर्ताले बचत फिर्ताका लागि उजुरी दिएका हुन् ।

आर्थिक अपचलनका कारण सहकारीको लगानी डुबेको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा उजुरी दिन आव्हान गर्दा मंसिर ७ गतेसम्ममा दई सय ६५ बचतकर्ताले ४ करोड ४१ लाख २ हजार ७ सय ७० रुपैयाँ बिगो माग दाबी गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले बताउनु भयो । बचत फिर्ताका लागि निवेदन दिन छुटेका बचतकर्ताले पछि पनि उजरी दिन सक्ने प्रहरीले जनाएको छ ।

लगानी फिर्ताका लागि बचतकर्ताले दिएको माग दाबी सहितको मिसिललाई प्रहरीले केही दिनभित्रै सरकारी वकिलको कार्यालयमा पेस गर्ने तयारी गरेको छ । बचतकर्ताले आठ सयदेखि ५५ लाख रुपैयाँसम्म बचत फिर्ताका लागि निवेदन दिएका छन् । बचतकर्ताको माग दाबी सहितको मिसिल सरकारी वकिलको कार्यालय पुगेपछि सरकारी वकिलकै कार्यालयमार्फत् जिल्ला अदालतमा अभियोगपत्र पेस हुने जनाइएको छ । 

२०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार शुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष अनिल जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ वैसाख १५ गते पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्दा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । जोशीको निधनपछि २०७८ वैसाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ ।

सयौँ बचतकर्ताको लगानी डुबेको विषयमा सहकारीको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई प्रहरीले कात्तिक १२ गते पक्राउ गरेको थियो । यस्तै, सहकारीका अध्यक्ष जोशीका भाइ सुनिल जोशी र सुनिलकी श्रीमती रविना श्रेष्ठलाई गएको असोज १३ गते तथा तत्कालीन प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाण्डौबाट पक्राउ गरिएको थियो ।

आफ्नो बचत डुबाइदिएको भन्दै बचतकर्ताले २०७९ फागुन २ गते सहकारीका अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको तर फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदा पौडेललाई गएको कात्तिक १५ गते चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सहकारीको नियम मिचेर तमसुक बिना नै ५९ वटा खाताबाट ४ करोड ४७ लाख ६ हजार ९६७ रुपैयाँ ऋण प्रवाह भएको  पाइएको छ । सहकारीबाट ऋणीलाई २५ हजारदेखि ९९ लाखसम्म ऋण दिइएको देखिएको छ । त्यसमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको छ । चार जनालाई तमसुक बिनै ऋण दिएको पाइएको छ । सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी संकटमा फसेको देखिएको प्रहरी निरीक्षक कार्कीले बताउनु भयो । 

सहकारीको निक्षेप ४ करोड ४७ लाख ५७ हजार २२१, शेयर पुँजी ५१ लाख १४ हजार ७८१, जगेडा कोषमा १९ लाख ५८ हजार ४९२ र संस्थागत कोषमा २४ लाख ८६ हजार ५६४ रुपैयाँ देखिन्छ । यस्तै, ४ करोड ९० लाख ९७ हजार ३९३ रुपैयाँ तिर्नु पर्ने देखिएको छ । वित्तीय अवस्था हेर्दा सहकारी ‘डुबेको’ अवस्था भने नदेखिएको प्रहरी निरिक्षक कार्कीले बताए ।

बचत अपचलनका कारण लगानी डुबेको भन्दै बचतकर्ता चरणबद्ध आन्दोलनमा छन् । डुबेको सावाँ र ब्याज फिर्ता लिनका लागि बचतकर्ताले पदमकुमारी सैंजुको संयोजकत्वमा संघर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दै आएका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने असफल प्रयास गरेको थियो ।

पाँच जनाले फिर्ता गरे ऋण

लालुपाते सहकारी संकटमा फसेको विषयमा अनुसन्धान अघि बढाएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँच जनाले ऋण फिर्ता गरेका छन् । कमल गिरीले १० लाख, निकिता राईले २ लाख, नवराज थापाले १ लाख ५० हजार, राजन सैंजुले १ लाख ३५ हजार र इन्द्र श्रेष्ठले ३१ हजार ऋण फिर्ता गरेको प्रहरी निरीक्षक कार्कीले बताउनु भयो ।

सहकारीको जग्गा व्यक्तिको नाममा

सहकारीको नाममा हलेसीमा ४८ लाखमा खरिद गरिएको ६ रोपनी ३ आना १ पैसा १ दाम (दुई कित्ता) जग्गा अध्यक्ष जोशीको भाइ सुनिलको नाममा पास गरेको पाइएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ । तत्कालीन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी (तीन कित्ता) जग्गा सहकारीको नाममा ल्याइसकिएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया