अन्नपूर्ण हिमालको आधार शिविरमा पञ्चकुण्ड ताल जमेर बरफ बनेपछि (फोटोफिचर)

 मंसिर १६, २०८० शनिबार १४:०:३४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हेमन्त ऋतुको समय दिनहुँ चिसो बढिरहेको छ । मौसम भने सफा भएर पारिलो घाम लागिरहेको छ । यो घुमफिरका लागि उपयुक्त समय हो । यो समय पर्यटकीय क्षेत्रमा पदयात्रा, हिमाल आरोहण तथा आधार शिविरको यात्रा पर्यटकको रोजाइमा पर्ने गर्छ ।

खासगरी विभिन्न पर्यटकीय क्षेत्रहरुमा गएको शरद ऋतुदेखि चहलपहल बढेको छ । अहिले देशका पर्यटकीय गन्तव्यहरुमा स्वदेशी तथा विदेशी पर्यटकहरु भ्रमणमा पुगेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्ने अन्नपूर्ण हिमालको आधार शिविरमा पनि पछिल्लो समय पर्यटकहरुको चहलपहल बढ्दै गएको छ ।

अन्नपूर्णको आधार शिविरसम्म पुग्ने पदमार्ग निर्माण तथा बस्ने ठाउँको व्यवस्थापन भएपछि पर्यटकीय गतिविधि बढेको हो । अन्नपूर्ण हिमालय क्षेत्र आफैँमा पनि निकै सुन्दर, मनमोहक र आकर्षक रहेको छ । अन्नपूर्ण आधार शिविरमा पुग्दा लागेको थकान बिर्सनुको साथमा स्वर्गीय अनुभूति गर्न पाइन्छ । वरिपरिबाट सुन्दर हिमालय पर्वतले घेरिएको अन्नपूर्णको आधार शिविरमा निलो रङको ताल छ ।

समुद्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा रहेको यो ताललाई पञ्चकुण्ड नामाकरण गरिएको छ । धार्मिक तथा पर्यटकीय महत्व रहेको पञ्चकुण्ड तालको लम्बाइ झण्डै एक किलोमिटर र चौडाइ दुई सय मिटर रहेको अनुमान गरिएको छ । तालमा अन्नपूर्ण हिमालको प्रतिबिम्ब अर्थात् (छाँया) देख्न सकिन्छ । तालदेखि माथि चार हजार एक सय ९० मिटरको उचाइमा अन्नपूर्ण आधार शिविर पर्छ । तालबाट निलगिरी र अन्नपूर्ण हिमालको रेन्जलाई आँखा नअघाउन्जेलसम्म हेर्न पाइन्छ ।

अहिलेको चिसो मौसममा पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ । बरफ बनेर कडा चट्टान जस्तै भएको तालमाथि त्यहाँ पुग्ने पर्यटकहरु भने हिँडेर रमाउने गर्छन् । जोखिम मोलेर पर्यटकहरु जमेको तालमाथि रमाइलो गर्ने गरेका छन् । जमेको तालमाथि आवश्यक सुरक्षा सतर्कता अपनाएर स्की खेल सञ्चालन गर्न सकिने त्यहाँ पुग्नेहरु बताउँछन् । नारच्याङ गाउँदेखि दुई घण्टा गाडीको यात्रा गरेर हुमखोला र त्यसपछि मौरिस हर्जोग पदमार्गको झण्डै ८ घण्टाको पैदलयात्रापछि तालमा पुग्न सकिन्छ । अन्नपूर्ण आधार शिविर पुग्ने यो सबैभन्दा छोटो दुरीको पदमार्गको रुपमा रहेको छ ।

सन् १९५० जुन ३ तारिखको दिन पहिलो पटक ८ हजार मिटर अग्लो अन्नपूर्ण हिमालमा मानव पाइला परेको थियो । सगरमाथा हिमालको आरोहणभन्दा ३ वर्ष पहिले सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका आठ हजार मिटर अग्ला हिमालमा पहिलो पटक आरोहण  आरम्भ भएको थियो ।

 

अन्तिम अपडेट: बैशाख १, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया