‘एक महिना भित्र मेलम्चीको पानी काठमाण्डौमा’

 मंसिर १६, २०८० शनिबार २०:५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुनै वाधा, अवरोध नआए मेलम्चीको पानी एक महिनाभित्र काठमाण्डौ आइपुग्ने भएको छ । मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि पुग्नु भएका खानेपानीमन्त्री महिन्द्रराय यादवले भन्नुभयो, ‘ठेकेदारले काम नगरेमा उपभोक्ता समितिबाट भए पनि काम गरी चाँडोभन्दा चाडो पानी काठमाण्डौ पठाउन हामी लागिपरेका छौँ, एक महिना भित्रमा पानी काठमाण्डौ पुर्‍याउने हाम्रो लक्ष्य हो।’

खानेपानी आयोजना निरीक्षणका लागि मन्त्री यादव मेलम्ची पुग्नुभएको छ । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उहाँ त्यहाँ पुग्नुभएको हो ।

मन्त्री यादवले काठमाण्डौवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाण्डौमा पानी आउँछ भन्ने यकिन समय भन्न नसकिने अवस्थामा रहेको छ ।

जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाण्डौमा झानुपर्ने भन्दै मन्त्री यादव विभिन्न निकायका व्यक्ति तथा निर्माण व्यावसायीसँग छलफलमा जुट्नुभएको उहाँको सचिवालयका टङ्क धमलाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘मेलम्चीको पानी काठमाण्डाै पुर्‍याउने विषयमा मन्त्री लागि पर्नुभएको छ, सबैसँग छलफल भइरहेको छ, बाढीका कारण क्षति पुगेका संरचना निर्माण गरेर चाँडै पानी काठमाण्डौ पुग्छ।’

निर्माण व्यावसायीको ढिलाइ र बाढीले आयोजना संरचनामा क्षति पुर्‍याएकाले पानी काठमाण्डौ पठाउनका लागि केहि ढिलाइ भएको मन्त्री यादवले बताउनुभयो । 

मेलम्ची खानेपानीको मुहान स्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमन पछि मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि काठमाडौँ पानी पठाउनका लागि तीव्रगतिमा काम शुरु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुहानमा बाढीलगायत विभिन्न समस्याका बाबजुद पनि अहिले काम सन्तोषजनक हिसाबले भइरहेको छ ।’

बाढीका कारण मेलम्चीका ७ नम्बर गेट, ९ नम्बर गेट, १९ नम्बर गेट र २१ नम्बर गेटमा क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको कार्यालयले जनाएको छ । क्षति पुर्‍याएका संरचना निर्माणदेखि मर्मत गरेर पानी काठमाण्डौमा पठाउनुपर्ने अवस्था रहेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुवँरले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यति दिनमा पानी काठमाण्डौ पुग्छ भन्न सक्ने अवस्था छैन, काम तीव्र गतिमा शुरु भएको छ, पानी काठमाण्डौमा महिना दिनमा पुर्‍याउने आशा गरेका छौँ ।’ प्राविधिक र अन्य समस्या भएकाले यतिदिन भित्र पानी पुग्छ भन्न सकिने अवस्था नभएको र अन्य समस्या र अवरोध नआए एक महिनामा पानी काठमाण्डौ पुग्ने उहाँको भनाइ छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले काठमाण्डौमा पानी पठाउनका लागि पालिकाकातर्फबाट पूर्णरुपमा सहयोग भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेलम्चीको पानी काठमाण्डौ पठाउनका लागि पालिका र जनताले पूर्णरुपमा सहयोग गरिरहेका छन्, हाम्रा पनि केही माग भएकाले पटकपटक प्रधानमन्त्री तथा अन्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छौँ, ती मागहरुको सम्बोधन हुनुपर्छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया