जुम्लाकाे एउटै वडामा तीन करोड रुपैयाँको सिमी उत्पादन

 मंसिर ६, २०८१ बिहीबार १५:१:४३ | रासस
unn.prixa.net

फाइल फाेटाे

जुम्ला – जुम्लाकाे तिला गाउँपालिका–१ रारा गाउँमा यस वर्ष तीन करोड रुपैयाँ बराबरको सिमी उत्पादन भएको छ । गएकाे वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो ।

जुम्लाका आठ वटा पालिकामध्ये सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा रारा गाउँ चिनिने गरेको वडा नम्बर १ का अध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिनुभयो । विगतमा आठ क्विन्टलभन्दा बढी उत्पादन नहुने गरेकाेमा यस वर्ष बढी खेती गर्नेले १५ क्विन्टल र कम खेती गर्नेले चार क्विन्टलसम्म सिमी उत्पादन गरेका छन् ।

वडाध्यक्ष बस्नेतले गाउँमा सिँचाइको सुविधा पुर्‍याउन चालू आर्थिक वर्षमा वडा कार्यालयले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । यसअघि सिँचाइको सुविधा नहुँदा यहाँका किसानलाई आकाशे पानीको भर पर्नुपरेको थियो । गाउँमा पानी पुर्‍याउन पालिकाले निरन्तर योजना बनाएर कार्यान्वयन गरिरहेको उहाँको भनाइ छ ।

सिमी बढी उत्पादन हुने वडा नम्बर १ मा दुई सय ९० परिवार छन् । अहिले गाउँमा पुगेर व्यापारीले प्रतिकेजी दुई सय रुपैयाँका दरले सिमी खरिद गर्ने गरेका राराका स्थानीयवासी नर रावतले जानकारी दिनुभयो । वडालाई सिमी उत्पादनको पकेट क्षेत्रसमेत मानिएको छ । सिमी लगाउने र फल्ने मौसममा वर्षा हुनुका साथै सहज सिँचाइ सुविधा भएपछि उत्पादनमा वृद्धि भएको उहाँको भनाइ छ ।

गाउँका किसानलाई लक्षित गरेर ‘एक गाउँ एक उत्पादन’ को रणनीति ल्याएर पालिकाले काम गरिरहेको छ । गाउँबाट सबैभन्दा बढी सिमी उत्पादन गर्ने किसानलाई प्रोत्साहनसमेत गरिने तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । याे वडाको मुख्य आम्दानीकाे स्राेत सिमी र स्याउ हो । अब सिमी र स्याउ खेतीलाई थप प्रवर्द्धन गर्न गाउँपालिकाको तर्फबाट यहाँका किसानलाई अनुदान उपलब्ध गराइने उहाँले उल्लेख गर्नुभयो ।

सिमीको पकेट क्षेत्र भनेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाले तिला–१ रारालाई सिमी जोन कार्यक्रम लागू गरेको छ । याे पालिकाको वडा नम्बर १ सहित २, ८ र ९ काे आठ सय क्षेत्रफल हेक्टरमा सिमीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका प्रमुख खेमराज शाहीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया