भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्छाैँ : देव खनाल

 मंसिर १९, २०८० मंगलबार १७:५६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको युवा क्रिकेट टोलीले कप्तान देव खनालले एसीसी १९ वर्षमुनिकाे एसिया कपकाे सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज मङ्गलवार गरेकाे बिदाइ कार्यक्रममा नेपाली १९ वर्षमुनिकाे क्रिकेट टाेलीका कप्तान देव खनालले टेस्ट राष्ट्रलाई हराउँदै समूह चरण पार गर्ने बताएका हुन् । १९ वर्षमुनिकाे एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तानसँगै अफगानिस्तान रहेको समूह 'ए' मा छ ।

नेपाली युवा टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको १९ वर्षमुनिकाे टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्‍याउन आतुर रहेको प्रतिक्रिया दिए । राष्ट्रिय टोलीले पनि राम्रो गरिहेको र आफूहरू पनि हरेक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताए । भारत र पाकिस्तानसँगकाे खेलमा राम्रो रन बनाउनु वा विकेट लिनु युवा टाेलीका लागि राम्रो अवसर रहेकाे उनकाे भनाइ छ ।

सन् २०१७ मलेसियाकाे क्वालालम्पुरमा भएकाे १९ वर्षमुनिकाे एसिया कपअन्तर्गत समूह चरणकाे खेलमा नेपालले भारतलाई १९ रनले हराएकाे थियाे ।

१९ वर्षमुनिकाे एसिया कप यही शुक्रवारदेखि पुस १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा हुँदैछ । प्रतियाेगिताकाे समूह 'बी' मा बङ्गलादेश, श्रीलङ्का, जापान र यूएई छन् । समूह 'बी' काे तुलनामा समूह 'ए' नेपालजस्तो एसोसिएट राष्ट्रका लागि निकै चुनौतीपूर्ण हो । भारतले ८ पटक र पाकिस्तानले १ पटक १९ वर्षमुनिकाे एसिया कपकाे उपाधि जितेका छन् । यो उमेर समूहमा भारतलाई हराएको इतिहास रहेकाले पनि नेपाली युवा टोली उच्च आत्मबलका साथ प्रतियाेगिताकाे तयारी गरेकाे छ ।

नेपाली युवा टाेलीका प्रशिक्षक जगत टमटाले राष्ट्रिय टाेलीबाट राम्रो खेलेका गुल्सन झा पनि टोलीमा समावेश रहेकाले आफूहरू थप उत्साहित रहेको प्रतिक्रिया दिए । यो यात्रा अगाडि राष्ट्रिय टोलीसँगकाे अभ्यास खेलले पनि युवा टोलीले राम्रो 'एक्सपोजर' पाएको उनको भनाइ छ ।

युवा टोलीकाे बिदाइका क्रममा क्यानका सचिव पारस खड्काले राष्ट्रिय टोलीले पाएको सफलतालाई पछ्याउँदै युवा टोलीले पनि राम्रो नतिजा ल्याउनेमा सबै आशावादी रहेको बताए । टोलीलाई बिदाइ गर्दै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले संसारलाई जित्ने क्षमता नेपाली क्रिकेट टोलीसँग रहेको भन्दै राष्ट्रिय टोलीले जस्तै युवा टोलीले पनि राम्रो नतिजा ल्याउने आशा व्यक्त गर्नुभयो ।

मन्त्री लिम्बूले अब खेलाडीले जितेको दुई हप्ताभित्र नै पुरस्कार पाउने वातावरण सिर्जना गरिरहेको बताउनुभयो । युवा टोलीले पाउनुपर्ने पुरस्कार पनि २/३ दिनमा नै सबैको खातामा आउने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया