पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन्द्र शाहले दर्ता नभएका औषधि पसललाई नियमानुसार आउँदो मङ्सिर २९ गतेभित्र दर्ता हुन तथा डाक्टरको सिफारिस (प्रेस्किप्सन) अनुसार मात्रै औषधिको कारोबार गर्न आज बुधवार सामाजिक सञ्जालमार्फत निर्देशन दिनुभएको छ ।
मेयर शाहले महानगरभित्र सञ्चालनमा रहेका कतिपय औषधि पसल दर्ता नभएका, अनधिकृत व्यक्तिबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री गरेको र डाक्टरको सिफारिस (प्रेस्किप्सन) विना औषधि बिक्री भइरहेको लगायतका गुनासा आइरहेका उल्लेख गर्नुभएको छ । महानगर आमनागरिकको स्वास्थ्यका लागि संवेदनशील रहेको भन्दै उहाँले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक काम गर्दै आएको बताउनुभएको छ । सुधारका प्रयास भइरहे पनि जनस्वास्थ्यमा लापर्बाही भएको भेटिएको मेयर शाहको भनाइ छ ।
नार्कोटिक औषधिको प्रचलित ऐन कानुनअनुसार बिक्री नगरिएको र ती औषधिको आवश्यक अभिलेख नराख्ने गरिएको, औषधि पसल व्यवस्थापन नगरिएको, महानगरपालिकाको स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई औषधि पसल सञ्चालनमा रहेका गुनासा आएका छन् । साथै महानगरको अनुगमनमा पनि यस्ता गुनासा आएका हुँदा कानुनअनुसार काम गर्न भनिएको छ ।
मङ्सिर २९ गतेभित्र महानगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसलले सुधारात्मक काम नगरेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन हुने र महानगरपालिकाको जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिने मेयर शाहले चेतावनी दिनुभएको छ । यदि कानुन विपरीत काम भएको पाइएमा महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी जानकारी दिन पनि महानगरवासीलाई अनुरोध गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।