पालिका उपचुनावको प्रचारका लागि आज अन्तिम दिन, रातिदेखि मौन ...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – आन्तरिक राजस्व विभागले स्वदेशी आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने जनाएपछि बजारमा कारोबार शुरु भएको छ । कारोबार ठप्प भएको चार दिन पछि आलु प्याजको खरिद–बिक्री शुरु भएको हो ।
हिजो आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज र स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने सूचना निकालेको थियो । यो सूचना आएपछि आजदेखि कारोबार खुलाइएको आलु–प्याज आयात–निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले काठमाण्डौको बजारमा एक सय टन आलुको माग छ । तर, चार दिन पछि आज बजार खुलेकाले माग अनुसारको आलु भित्रिएको छैन । आज ६० देखि ७० टन आलुको कारोबार हुने अनुमान छ । आलुको सिजन भएकाले भोलिदेखि माग अनुसारकै कारोबार हुने अनुमान छ ।
उहाँका अनुसार बजारमा प्याजको भने अभाव छ । नेपालमै उत्पादन हुने अनुकुल वातावरण भए पनि प्याजका लागि भारतकै भर पर्नु पर्ने अवस्था छ । भारतले बेलाबेलामा प्रतिबन्ध लगाउँदा माग र आपूर्तिको फाइदा उठाउँदै बिचौलियाले चलखेल गर्ने गरेका छन् । यसले गर्दा बजारमा प्याज महँगो छ ।
प्याज उत्पादन बढाउन सरकारले ०६४ सालदेखि ०६९ सालसम्म सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा र रूपन्देहीमा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर, प्याज खेतीको क्षेत्रफल र उत्पादन बढ्न सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।