स्वास्थ्यचौकी राखाबांदेलको भवन अलपत्र, ठेल्दा भत्किन्छ पक्की पर्खाल

 मंसिर २३, २०८० शनिबार ८:५१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलस्थित स्वास्थ्यचौकी भवन निर्माणको काम अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने स्वास्थ्यचौकी भवन निर्माणको काम गौरी पार्वती न्यु टेक्निकल जेभी, ललितपुरको चरम ढिलासुस्तीका कारण अलपत्र परेको हो ।

भुइँतलाको पर्खालमा प्लास्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खालहरु हाल्न बाँकी देखिन्छ । गौरी पार्वती न्यु टेक्निकल जेभीले २०७८ फागुन २७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मंसिर ११ गते स्वास्थ्यचौकी भवन निर्माणको सम्झौता गरेको थियो । पटक–पटक थप भएको म्याद गुज्रिँदा पनि निर्माण कम्पनीले स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र पारेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका आयोजना प्रमुख प्रभाकर कर्णले बताउनु भयो ।

निर्माण व्यवसायीको चरम लापरबाहीका कारण स्वास्थ्यचौकी भवन निर्माणको काम करिब डेढ वर्षदेखि ठप्प छ । भवन निर्माणका लागि चौथो पटक थप भएको म्याद गएको कात्तिक ३० गते गुज्रिसकेको छ । पुन: पाँचौँ पटक म्याद थपका लागि विभागमा फाइल पेस भएको आयोजना प्रमुख कर्णले बताउनुभयो ।

‘निर्माण व्यवसायीले कामै नगर्दिने । अलिअलि काम गर्ने बिल लाने, गर्छु–गर्छु भन्ने अनि हिँड्ने ! पटक–पटक म्याद थप्दा पनि ढाँट्ने, छल्ने काम भयो । प्रतिबद्धता जनाउने अनि काम गर्न आउँदै नआउने,’ कर्णले भन्नुभयो, ‘अब काम गर्नु भएन भने कारबाही गर्छौँ भनेर अन्तिम ताकेता पठाएका छौँ । बैंक ग्यारेन्टी तान्न चिट्ठी लेखेका छौँ । हर्जना लगाएर वा ठेक्का तोडेर त्यो काम अर्कोलाई जिम्मा दिएर भए पनि यो वर्ष काम टु ङ्ग्याउने योजना छ ।’ नयाँ पक्की भवन निर्माणको काम अलपत्र परेपछि स्वास्थ्यचौकीलाई पुरानो कच्ची भवनबाट सार्न सकिएको छैन । 

मङ्सिर २० गते राखाबांदेलमा आयोजित शहीद अनिता गुरुङको शालिक अनावरण कार्यक्रममा उपस्थित प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ र आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ समक्ष माओवादी केन्द्र वडा कमिटिले अलपत्र परेको स्वास्थ्यचौकी भवनलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्नका लागि पहलकदमी गर्न लिखित रुपमा हारगुहार गरेका थिए ।

ठेल्दै ढल्ने पर्खाल ! 

सामान्यतः बालुवा, सिमेन्ट र इँटाले बनेको पर्खाल बलियो मानिन्छ । पक्की पर्खाल तोड्न ह्याम्मर प्रयोग गर्नुपर्ने हुन्छ तर स्वास्थ्यचौकी राखाबांदेलको भवनको पक्की पर्खाल हातले ठेल्दा भत्किने गरेको छ । क्यूरिङ नगरेका कारण भवनको पर्खाल ठेल्दै भत्किने गरेको स्थानीय बताउँछन् ।

गएको मङ्सिर १७ गते स्थानीय गणेश नाछिरिङले स्वास्थ्यचौकी भवनको पर्खाल ठेलेर लडाउँदै गरेको भिडियो फेसबुकमा पोष्ट गरेर भाइरल बनाएका थिए । बालुवा, सिमेन्ट र इँटा प्रयोग गरेर बनाइएको भवन हातले ठेल्दा भत्किएपछि स्थानीयले गुणस्तरमा प्रश्न उठाउँदै ठेकेदारको आलोचना गरिहेका छन् । स्थानीयले ठेलेर भत्काएको पर्खाल थुप्रिएको देखिन्छ ।

साउदी सरकारको सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको राखाबांदेल, बाहुनीडाँडा, दोर्पाचिउरीडाँडा, मङ्गलटार र बतासे स्वास्थ्यचौकीको भवन निर्माणको काम शुरु गरिएको थियो । गौरी पार्वती न्यु टेक्निकल जेभीले भ्याट बाहेक सात करोड ४० लाख ८४ हजार २९६ रुपैयाँमा पाँच स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएको हो । हालसम्म पाँच वटै भवनको कामले पूर्णता पाउन नसकेको कर्णले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया