सिङ्गो गाउँ एउटा कुवामा निर्भर !

 मंसिर २३, २०८० शनिबार १२:४०:२ | दमन राई
unn.prixa.net

खोटाङ – सिङ्गो गाउँ एउटा कुवामा निर्भर ! हो, खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी भोर्लेनीका ६५ घर परिवार एउटा कुवाको पानीमा निर्भर छन् । साविक डुम्रेधारापानी–९ भोर्लेनीका स्थानीयले सदियौँदेखि गाउँको पुछारमा रहेको मुहानको पानी बोकेर पिउँदै आएका छन् । स्थानीयले कुवाको पानी गाग्रो, बाल्टीन र पेप्सीको बोटलमा हालेर ओसार्ने गरेका छन् ।

कुवाबाट डोकोमा पानी बोकेर सिरान घरमा पुग्न डेढदेखि दुई घण्टासम्म लाग्ने गरेको स्थानीय चन्द्रसिं बस्नेत बताउनुहुन्छ । ठूलो बरछेउको कुवामा पानी जम्मा गर्न ट्याङ्की सहित दुई वटा धारा बनाइएका छन् । यो मुहानमा बिहानैदेखि पानी लिन र नुहाउन जाने स्थानीयको भिड लाग्ने गरेको छ । मुहान सुक्ने याम वैशाखदेखि असारसम्म पानीका लागि बिहान तीन बजेदेखि कुवामा लाइन बस्नुपर्ने बाध्यता रहेको दुर्गामाया मगर बताउनुहुन्छ ।

भोर्लेनीवासीले पिउन र खाना पकाउनका लागि कुवाबाट पानी ओसार्छन् । भैँसीलाई खुवाउनका लागि पनि पानी बोक्छन् । नुहाउन र लुगा धुन कुवामा पुग्ने गरेका छन् । परिवारमा एक जनाको पानी ओसार्ने ‘ड्युटी’ नै हुन्छ । पानी बोक्नुपर्ने बाध्यताका कारण स्कुले बालबालिका बिहान लेखपढ गर्ने समय पाउँदैनन् । भोर्लेनीमा राम्रो उब्जाउ हुने जग्गा छ तर पानीको समस्याले बसाइँ सर्दै हिँड्नुपर्ने बाध्यता रहेको बस्नेत बताउँछन् । यो मुहान सकेको बेला त्यो भन्दा अझ तल रहेको कैंजले मुहानमा पानी लिन जानुपर्ने बाध्यता छ । उनीहरुका लागि कुवा जमघट गर्ने र भलाकुसारी गर्ने थलो बनेको छ।

‘यो ६५ घरको धारा साझा कुवा हो । यो चैतमा सुक्छ । त्यसपछि कैंजले पुग्नुपर्छ । गाउँ सिरानको मान्छेले कैंजलेबाट १६ सय मिटर उकालो–ओरालो हिँड्नुपर्छ । पानीको समस्याले बसाइँ हिँड्नु पर्ने बाध्यता छ । स्कुल जाने विद्यार्थीले समयमा स्कुल जान पाएका छैनन् । कहीँ जानुअघि नुहाउन परे समस्या छ,’ बस्नेतले भन्नुभयो, ‘कुवामा नुहाएर घर पुग्दा सात बज्छ, पानी बोक्न जाने आठ/नौ बजे घर पुग्छ । यहाँ खेतीपाती राम्रो हुने जग्गा छ । पानीको समस्या समाधान भइदिए यहाँका मान्छे अरुतिर सर्न चाँहदैनन् ।’

साविक डुम्रेधारापानी–९ कोशीखर्कमा पनि पानीको चरम समस्या छ । कोशीखर्कका स्थानीयले पनि एउटै कुवाको पानी उपयोग गर्दैआएका छन् । साविक डुम्रेधारापानी–७ कोटडाँडा र साविक डुम्रेधारापानी–८ सिम्लेमा एउटा पनि कुवा नै छैनन् । पानीको चरम अभाव रहेको कोटडाँडा, सिम्ले, साविक डुम्रेधारापानी–६ धारापानी, भोर्लेनी र कोसीखर्कका लागि २०५२ सालमा ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे निपाने मुहान भएको पानी ल्याइएको थियो ।

तर भोर्लेनी र कोशीखर्कमा ज्यामिरेको पानी आउन छाडेको चार वर्ष भइसकेको छ । तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य पर्शुराम राईको पहलमा २०४७ सालदेखि २०५२ साल लगाएर ४६ लाखमा ज्यामिरे निपाने खानेपानी योजना सञ्चालनमा ल्याइएको थियो । ज्यामिरेको पानी आउन छाडेपछि भोर्लेनी र कोशीखर्कवासी पुनः कुवा धाउन बाध्य बनेका हुन् । भोर्लेनीका पाँच/सात घरमा मात्र बेला बेलामा ज्यामिरेको पानी आउने गरेको छ । ‘हामीलाई पानीको दुःख छ, भोलिपर्सि कैंजले पुग्नुपर्छ । पानीको सुविधा कहिल्यै आउन आँटेन । ४९ वर्ष पुगिसकेँ, सुविधा हुनु त त्यत्तिकै होला,’ मगरले भन्नुभयो, ‘गाईगोरुलाई कुवामै लगिन्छ । कुवामै नुहाइन्छ । भैँसीलाई बोकेरै पानी खुवाउने गरिन्छ । वैशाखदेखि असारसम्म पानीका लागि बिहान तीन बजेदेखि लाइन बस्नुपर्छ । जान–आउन गरी एक/डेढ घण्टा टाइम लाग्छ ।’

डुम्रेधारापानीमा पिउने पानीको स्रोत व्यवस्थापनका लागि वैकल्पिक प्रयास नभएका भने होइनन् । जरुवापानी, कोटगाउँ, डाँडागाउँ, सिम्ले र भोर्लेनीका स्थानीयका लागि जरुवापानीमा रहेको मुहानलाई २०७७ सालमा विद्युतीय मोटरमार्फत पम्पिङ गर्दै गाउँमा निकालिएको थियो । तर उपभोक्ताले महसुल, उपकरण मर्मत लगायतका व्यवस्थापन गर्न नसक्दा लिफ्टिङ योजना नियमित सञ्चालन हुन नसकेको स्थानीय एवम् गाउँपालिकाका पूर्वकार्यपालिका सदस्य पुण्यकुमारी मगर बताउनुहुन्छ । यस्तै, डुम्रेधारापानीमा गाउँभन्दा तल बहने दुधकोसीबाट लिफ्टिङ योजनामार्फत पानी निकाल्ने योजना समेत निर्माणको चरणमा छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया