धनकुटामा ठोकेको मुक्का हो कि सलाम ? टेलिफोनमा तीन शीर्षको सवालजवाफ !

 पुस १, २०८० आइतबार १३:३०:५९ | मिलन तिमिल्सिना
unn.prixa.net

‘ए ठोकेछन् ? मुक्कै हानेछन् है ? बल्ल स्वाद पर्यो ! बुढेसकालमा पनि तन्नेरी पल्टेर हिँडेका छन्, दिनहुँ मान्छेको भीडमा पुगेका छन्, फूलमाला र खादा भिरेका छन्, माइकमा भाषण थाल्नेबित्तिकै हामीलाई भित्तामा पुग्ने गरी गाली गरेका छन्, म र मेरो पार्टीभन्दा ठूलो कोही छैन भन्या छन् । थाहा पाए होला नि मान्छेले बा मात्रै होइन, लौ खा पनि भन्दा रहेछन् भनेर ........!’

बूढानीलकण्ठको कौसीमा मज्जाले घाम तापेर समाचार पढ्दै गरेका विपक्षीका शीर्ष नेता मनमनै गद्गद् भए । तर मनभित्र खुशीले गद्गद् भए पनि बाहिर दुःखले भतभत पोलेको छ भनेर देखाउनै पर्यो । अनि हतारिंदै फोन डायल गरे ।

हेलो मित्र कस्तो छ तपाईंलाई ? ठोके रे हैन त ? चोट त लागेको छैन नि ? अब धेरै भेटघाट गर्दै नहिँड्नुस् है । अरुले पनि ठोक्लान् । 

ठोकिराछन् मित्र ठोकिराछन् । फेरि पनि ठोक्छन् । 

अनि दुखेको छैन र भन्या ?

सलाम ठोक्दा पनि दुख्छ र !

सलाम ठोक्या रे ? हैन के भन्नुहुन्छ । पख्नुहोस् है एकपटक फेरि हेर्नुपर्यो ।.....हैन मुड्कीले नै ठोक्या जस्तो देखिन्छ त यो भिडियोमा ।

अनि जय नेपाल गर्या हो र हात मात्रै हल्लाउनलाई ? लालसलाम गर्दा त मुड्की नै उठाउनुपर्छ नि मित्र । नपत्याए तपाईंको परममित्रलाई सोध्नु न । तपाईंहरु त गठबन्धनका मान्छे सँगै हुनुहोला नि ?

अघिसम्म त उहाँको नातिनीको बिहेभोजमा सँगै थियौँ। सर्वहारा पाराले बिहेभोज गर्नुभएको रै'छ । खाइयो, पिइयो । तपाईं छुटिहाल्नु भो त । अहिले चाहिँ भिडियो च्याटमा कुरा भैराछ हाम्रो । अघिसम्म तपाईंकै कुरा भैरहेको थियो । भिडियो हेरेर मुसुमुसु हाँस्दै हुनुहुन्छ । ए हैन हैन पिर मानेर अघिदेखि नै छटपटाइरहनुभएको छ । पख्नुहोस् है त, ल कुरा गर्नुस् ।

हैन मित्र सलाम ठोक्या रे ? हैन त्यतातिर सलाम गर्दा सिधै मुड्कीले हान्दा रहेछन् कि क्या हो ! हामी त मुड्की उठाउँथ्यौं मात्र ।

आउनुस् न यता, अनि चाल पाउनुहुन्छ । 

भो मित्र नआउँ होला । यस्ता सलाम त मैले धेरै भेटिसकेँ । २०७६ सालतिर एकजना तिरुवा कि पिरुवा भन्नेले जुत्ताले सलाम ठोके । ०६९ सालमा पदम कुँवरले गालामै सलाम पड्काए । ०७२ सालमा सिरहा जाँदा ढुङ्गा र बोतलको सलाम पाइयो । ०७० सालतिर कञ्चनपुरमा झण्डै बमकै सलाम ठोकेका थिए । अब योभन्दा बढी सलाम खान हुँदैन मित्र । म त वाक्क भैसकेँ । तपाईंलाई पो पहिलोपटक भएर केही भएजस्तो लागेन त ।

हैन तपाईं पनि अरु ठेउकाहरुले हल्ला गरेजस्तै मलाई मुक्का नै हाने भन्ने ठानिरहनुभएको छ कि क्या हो ?

ठान्नै पर्दैन नि मित्र, हानेकै मुक्का हो । हाने त हाने, धन्न केही भएन भन्नुस् न । किन हैन भन्नुपर्यो र भन्या ? अब नहाने भैहाल्यो नि !

हाम्रा साथीहरुको फेसबुक स्टाटस पढ्नुस् न भएको के हो भनेर । मलाई स्वागत गर्न उभिएको बेला तलतल लागेर अलिअलि पिएका रैछन् । लर्बरिंदै आउँदा मलाई छुन छुन मात्रै खोजेका हुन् । प्रहरीको भ्यानमा राखेपछि त मेरो नाममा जिन्दावादै गरे रे । साथीहरुले त्यो भिडियो चाहिँ खिच्न भ्याउनुभएन होला । खैर केही भएन । तर तपाईंहरुले यसलाई मुक्का हैन, सलाम ठोक्या हो भनेर बुझ्नुपर्यो ।

त्यसो भए ०६७ सालतिर तपाईंका झलनाथ खनाललाई सुनसरीमा देवीप्रसाद रेग्मीले हानेको झापड पनि सलाम नै होला ।

त्यतिबेला सलाम जस्तै लागेको थियो । अहिले तपाईंहरुको गठबन्धनतिर हुनुहुन्छ । त्यसैले झापड नै हो त्यो ।

अनि अहिलेका राष्ट्रपति अनि उतिबेलाका सभामुखलाई संसदमा गोल्छे शार्कीले हानेको चड्कन, ०७४ सालमा रामशरण महतले नुवाकोटमा भेटेको पानीको बोतल, ०६९ सालमा सुशील कोइरालामाथि भएको लम्कीझम्की, अनि ०७३ सालमा बाबुराम भट्टराईले पोखरामा खाएको जुत्ता नि ?

त्यो त जजसले जे खाएका हुन्, त्यही हो । तर मेरो हकमा सलाम मात्रै हो । मेरो ज्यानमा मुक्का लागेको देख्नुभयो ? देखिएन नि । मलाई लागेकै छैन, म कसरी मुक्का भनेर पत्याउँ । ज्यानले अनुभव गरेको त सलाम मात्रै हो । जसरी मुट्ठी उठाएर सलाम गर्दा सलाम गर्ने मान्छेलाई मात्रै आफूले मुट्ठी उठाएको अनुभव हुन्छ, सलाम पाउनेले सलाम पाएको मात्रै अनुभव गरेको हुन्छ । 

लौ हामीलाई चाहिँ अरुलाई भाषण दिएजस्तो उखान र पुराण नसुनाउँ मित्र । छिटो काठमाण्डौ फर्कनुस् । तपाईंलाई पनि नातिनीको बिहेभोज खुवाउनुछ ।

त्यही त क्या मित्र बुढ्यौलीमा धेरै नहिँड्नुस् । यी मैले झैँ आनन्दले बस्नुपर्छ । बूढानीलकण्ठबाट सितिमिती कतै निस्कने बानी छैन । कसैलाई भेट्दिनँ पनि । कहिलेकाहीँ कार्यक्रमतिर जान पर्यो भने उल्टै म चाहिँ अरुलाई ठोक्न बेर मान्दिनँ । अलि अस्ति नै प्रकाशशरण महतलाई पड्काइसकेको थिएँ, हेर्नुभाथ्यो होला नि ? पौडेलजीसँग पनि मञ्चमै हात हालाहाल भैसक्या थियो । अरुले त मलाई छुनै सक्दैनन् । बाहिर हिँड्दै नहिँडेपछि न मुड्की, न झापड । मैले यी गठबन्धनका लाल सलाम मित्रलाई पनि भनेको छु । यसअगाडि धेरै भेटिसक्नु भो, अब कार्यकर्ता र जनता भन्दै भेटघाटमा नहिँड्नुस् भनेर । चुनाव आएपछि जाउँला नि के को हतार ।

चुनाव त अब आउनै लाग्यो मित्र । मिसन ०८४ भन्या सुन्नुभएन ?

धेरै मिसन ०८४ भनेर बुरुकबुरुक नउफ्रनुस् है, फेरि मेरै चाहिँ मुक्का भेट्नुहोला नि । यहाँ अहिले आफ्नो पालै आएको छैन । ०८४ मा त आफ्नै चौरासी गर्ने बेला हुन्छ ।

उहाँले छोडे पो तपाईंको पालो आउँछ । ल धेरै मुक्कामुक्का नभन्नु्स् । उल्टै धक्का खानुहोला । कुर्सी समातेर बस्नुस् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया