लामो समयसम्म मोबाइल र कम्प्युटरमा भिडियो गेम खेल्नेहरुको श्रवणशक्ति गुम्ने समस्या

 माघ ५, २०८० शुक्रबार ६:३८:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - लामो समय मोबाइल, ल्यापटप वा कम्प्युटरमा भिडियो गेम खेल्नेहरूको श्रवणशक्ति गुम्ने तथा उनीहरूमा ‘टिनिटस’ अर्थात् लगातार घण्टी बजेजस्तो सुनिने समस्या हुने गरेको पाइएको छ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र अमेरिकाको दक्षिण केरोलिना विश्वविद्यालयका विशेषज्ञहरूले ५० हजार जनाभन्दा धेरैमा गरेको अध्ययनले यस्तो पुष्टि गरेको हो । उत्तर अमेरिका, युरोप, दक्षिण एसिया, एसिया, दक्षिण पूर्व एसिया र अस्ट्रेलियाका गरी १४ जना विशेषज्ञले ५३ हजार ८ सय ३३ जनामा गरेको अध्ययन ओपन एक्सेस जर्नल बीएमजे पब्लिक हेल्थमा प्रकाशित गरिएको छ । 

सहभागीमध्ये २० देखि ६८ प्रतिशतले भिडियो गेमका कारण कानमा लगातार घण्टी बजेजस्तो सुनिने र झन्झनाहट हुने गरेको बताएका थिए । हेडफोन, इअरबर्ड, एअरफोन लगाएर गेम खेल्दा, गीत सुन्दा आउने तीव्र गतिको ध्वनिका कारण श्रवणशक्ति गुम्ने सम्भावना बढेको अध्ययनमा उल्लेख छ । 

एक अध्ययनले अमेरिकाका १ करोडभन्दा बढी मानिसले श्रवणशक्तिमा असर गर्ने खालको तीव्र गतिको आवाज सुन्ने गरेको पुष्टि गरेको थियो । अमेरिकासँगै विश्वभर हेडफोन, इअरबर्ड, एअरफोन प्रयोगकर्ता तथा भिडियो गेम खेल्नेहरूको सङ्ख्या बढिरहँदा जोखिम बढेको अध्ययनको निष्कर्ष छ । विशेषगरी स्कुले बालबालिका, किशोरकिशोरी, भिडियो गेम खेल्नेहरूमा श्रवण समस्या बढी देखिएकाले भिडियो गेम लगायतबाट आउने उच्च गतिको आवाजको जोखिमबारे सचेत गराउनुपर्ने विज्ञहरुको सुझाव छ । 

डब्ल्यूएचओको निर्देशनअनुसार वयस्कहरूले हप्ताको ४ घण्टाका लागि ८५ डेसिबल्स र हप्ताको १ घण्टा १५ मिनेटका लागि ९० डेसिबल्स सुन्न सक्छन् । फोर शुटिङ गेममा हेडफोनको औसत आवाज ८८ दशमलव ५ डेसिबल्सदेखि ९१ दशमलव २ डेसिबल्ससम्म हुने गरेको अध्ययन क्रममा पत्ता लागेको छ ।

यस्तै, भिडियो गेम खेल्दा आवाज कम गर्न, १ घण्टामा कम्तीमा ५ मिनेट कानलाई आराम दिन सुझाव दिइएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया