दुई वर्ष ढिलो गरी खोटाङको बाहुनीडाँडामा बन्यो स्वास्थ्यचौकी भवन

 माघ ७, २०८० आइतबार ९:३३:३ | दमन राई
unn.prixa.net

खाेटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन दुई वर्ष ढिलो गरी सञ्चालनमा आएकाे छ । 

स्वास्थ्यचौकीको नयाँ भवनमा आजदेखि सेवा शुरु गर्ने तयारी भइरहेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताउनुभयो । आफ्नै भवन नहुँदा स्वास्थ्यचौकीलाई स्थानीय झोक्रे राईको घरको दुई वटा कोठा भाडामा लिएर सञ्चालन गरिएको थियो । त्यसअघि तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्यचौकीको सेवा सञ्चालन हुँदै आएको थियो ।

२०७८ फागुनमै बनिसक्नुपर्ने स्वास्थ्यचौकीको भवन निर्माण कम्पनी गौरी पार्वती न्यु टेक्निकल जेभी, ललितपुरको ढिलासुस्तीका कारण दुई वर्ष ढिलो गरी काम सकिएको हो । २०७७ मंसिर ११ गते सम्झौता गरी अर्को वर्ष फागुनमा काम सक्ने भने पनि निर्माण हुन सकेको थिएन ।

स्वास्थ्यचौकीको भवन हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले हिजो उद्घाटन गर्नुभयो । भवन निर्माणका क्रममा स्थानीय बासिन्दाले पर्खालको गुणस्तरमाथि समेत प्रश्न उठाएका थिए । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया