बजेट अभावले अर्घाखाँचीका १ सय ३१ खानेपानी योजना अलपत्र

 माघ १६, २०८० मंगलबार १३:२९:४८ | प्रेमनारायण आचार्य
unn.prixa.net

फाइल तस्बिर

अर्घाखाँची - अर्घाखाँचीमा चालु आर्थिक वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ वटा खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । क्रमागत ५८ वटा खानेपानी योजनामा यस वर्ष आएको बजेटभन्दा बढी रकमको काम विगतका वर्षहरुमा नै उपभोक्ता समितिले सम्पन्न गरिसकेका छन् । तर रकम भने पाउन सकेका छैनन् ।

क्रमागत ५८ वटा योजनामा विगतका वर्षहरुमा नै १० करोड ५१ लाखको काम सम्पन्न भए पनि रकम अभावले विगतका वर्षको पनि रकम भुक्तानी गर्न नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख इञ्जिनीयर रामभरोस यादवले बताउनुभयो । 

चालु वर्षमा विभिन्न एक सय ३१ योजनामा ११ करोड ६५ लाख रुपैयाँ रकम बजेट आएको छ । यसअघि नै काम गरेका ५८ योजनाको रकम भुक्तानी गर्नका लागि १० करोड ५१ लाख रुपैयाँ बाँकी छ । योजनाहरु अलपत्र परेका छन् । जिल्लामा भएका सबै योजनाहरु सम्पन्न गर्न ३ अर्बभन्दा धेरै लाग्ने अनुमान छ । तर खानेपानी योजनामा विगतमा भएका कामको पनि रकम भुक्तानी गर्न नसकिएपछि समस्या आएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सम्पन्न भएका योजनाको भुक्तानीका लागि आवश्यक बजेट विनियोजन गर्न र रकम निकासा गर्न पटकपटक लुम्बिनी प्रदेश सरकारको खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयलाई पत्राचार तथा मन्त्रालयमै गएर ध्यानाकर्षण गराउँदा पनि रकम निकासा हुन नसकेको खानेपानी कार्यालय अर्घाखाँचीका प्रमुख यादवको भनाइ  छ । काम गरेको रकम पनि पाउन नसकेको अवस्था छ । केही संरचना त जीर्ण बनेका शीतगङ्गा–१० सिद्धाराका हिम्मत पोख्रेलले बताउनुभयो ।

अर्घाखाँची र प्युठानमा खानेपानी आयोजनामा गर्नुपर्ने निर्माण संरचना बनिसकेका कामको रकम भुक्तानीका लागि सचिवस्तरमा तथा मुख्यमन्त्री स्तरमा पटक पटक छलफल भएको तर निष्कर्षमा पुग्न नसकिएको वन वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका महाशाखा प्रमुख इञ्जिनीयर गुणानिधि पोख्रेलले बताउनुभयो । 

खानेपानी डिभिजन कार्यलयका सूचना अधिकारी गोविन्दप्रसाद आचार्यका अनुसार मन्त्रालयबाट आउने बजेट बर्सेनि घट्दै गएको छ । आयोजनाको लागत अनुमानका आधारमा काम गर्न बर्सेनि कम्तीमा ५० करोड बजेट आवश्यक पर्ने भए पनि चालु आर्थिक  वर्षमा झण्डै १३ करोड रुपैयाँमात्रै अख्तियारी आएको छ ।

डिभिजन प्रमुख यादव भन्नुहुन्छ 'हामीले सबै काम द्रुतगतिमा गर्छौँ भनेर मात्रै भएन । रकम अभावले काम रोकिएका छन् । सबै आयोजना पाइप लाइनमै छन्, बजेट अभावका कारण काम अघि बढाउन नसक्दा थुप्रै आयोजना सम्पन्न नहुँदै भग्नावशेषमा परिणत हुने अवस्था आएको छ ।'

अन्तिम अपडेट: बैशाख १५, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया