प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र तीन वटै दिवस किन मनाउने ?

 फागुन ७, २०८० सोमबार १८:१६:२८ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलको सैनिक मञ्चमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाण्डाै – एक सय चार वर्षीय राणा शासनको अन्त्य भएको दिनको सम्झनामा सोमवार आज सार्वजनिक बिदासहित प्रजातन्त्र दिवस मनाइएकाे छ । व्यवस्था परिवर्तनको सम्झनामा आज प्रजातन्त्र दिवस मनाएको दुई महिनापछि वैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ । लोकतन्त्र दिवस मनाएको एक महिनापछि जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ । यी सबै दिवस व्यवस्था परिवर्तनसँग सम्बन्धित छन् ।

कुनै पनि देशमा व्यवस्था परिवर्तन हुँदा सबैभन्दा पछिल्लो घटनालाई महत्त्व दिइन्छ । कुनै व्यवस्था ठिक भएन भनेर परिवर्तनको प्रयास हुने भएकोले पछिल्लो परिवर्तन भएको दिनलाई उत्सवका रूपमा मनाइन्छ । तर नेपालमा व्यवस्था परिवर्तन भएको सम्झनामा तीन वटा छुट्टाछुट्टै दिवस राष्ट्रिय रूपमा मनाइन्छ । किन उस्तै दिवस मनाइरहने भन्ने प्रश्न धेरैलाई लाग्न सक्छ । राजनीतिक विश्लेषक श्याम श्रेष्ठ सारमा 'डेमोक्रेसी' को महिमा बोक्ने भए पनि अलगअलग ऐतिहासिक कालखण्डमा तीन वटै दिवसको आ–आफ्नै महत्त्व रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘उस्तै उस्तै लागे पनि कालखण्डअनुसार यिनीहरूको महत्त्व फरक–फरक छ । यिनीहरू सम्बन्धित त छन् तर छुट्टाछुट्टै रूपमा उत्तिकै सान्दर्भिक पनि छन् ।’

२००७ सालमा प्रजातन्त्र प्राप्तिपछि नेपालको बन्द समाज खुला हुनुका साथै निरङ्कुश शासन अन्त्य भयो । तर प्रजातन्त्रमा निरङ्कुश शासन नभए पनि आमनागरिक प्रजा मात्रै भए । प्रजाको अर्थ स्वामीको अधिनमा रहेको भन्ने गरिन्छ । त्यस बेला पनि राजा नै सर्वोपरि रहे । तर पनि लामो समयको तानाशाह शासन व्यवस्था अन्त्य भई पार्टी वा सङ्गठन बनाउन पाउने, बोल्न, लेख्न, छाप्न पाउनेजस्ता उपलब्धिहरूका कारण प्रजातन्त्रलाई महत्त्व दिइन्छ ।

यस्तै लोकतन्त्रमा नागरिक सर्वोपरि हुने, स्वामीको अधिनमा बस्न नपर्ने, नागरिक अधिकार सम्पन्न हुने कुरा हुन्छ भने गणतन्त्रमा वंश परम्परामा आधारित शासन व्यवस्था नरहेको भन्ने हुन्छ । जसमा राष्ट्रप्रमुखको पदमा जो कोही आमनागरिक पुग्न सक्छ । तर यति हुँदाहुँदै पनि नेपालको सन्दर्भमा नागरिक अधिकार प्राप्तिका लागि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र तीन वटै अवस्था महत्त्वपूर्ण रहेकाे राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउनुहुन्छ । 

जेसुकै नाम दिइए पनि यस्ता दिनहरूलाई राज्य व्यवस्था परिवर्तन हुँदाको ऊर्जा कायम राख्ने दिवसका रूपमा सम्झिनुपर्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । यी दिवस मनाउनु भनेको व्यवस्था किन परिवर्तन भइरहेको छ भनेर प्राप्तिको अर्थ केलाउनु पनि हो । ठूला ऐतिहासिक सन्दर्भ बोकेका यी दिवसहरूमा मानिसहरू आफ्ना सबैखाले स्वार्थभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने राजनीतिशास्त्रीहरू बताउँछन् ।

नेपाल एकीकरणको शुरुवात गर्ने पृथ्वीनारायण शाहको जन्मदिनलाई भव्य रूपमा मनाउने अभ्यासलाई गणतन्त्र आएपछि हटाइएको थियो । तर गएको वर्ष सरकारले निर्णय गरेर यस वर्षदेखि पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा सार्वजनिक बिदासहित पृथ्वी जयन्ती मनाउन थालेको छ ।

एकैखाले दिवस धेरै भए भनेर आलोचना भइरहँदा २०७४ सालमा मन्त्रिपरिषद्ले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, शहीद दिवस, गणतन्त्र दिवस र राष्ट्रिय एकता दिवसका बिदा कटौती गरेर २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवस मनाउने निर्णय गरेको थियो । तर त्यो निर्णय कार्यान्वयन भएन । गणतन्त्र दिवस, संविधान दिवस र प्रजातन्त्र दिवसको बिदा कायमै रहँदा पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवसमा पनि बिदा दिन थालिएको छ ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ व्यवस्था परिवर्तनको सम्झना गराउने यी दिवसहरू आफ्नो ठाउँमा उत्तिकै सान्दर्भिक भए पनि सार्वजनिक बिदा भने कम गर्नुपर्ने बताउनुहुन्छ । राज्यले सबैलाई सम्झँदै कुनै एक दिन मात्रै बिदासहितको दिवस मनाउनु उचित हुने उहाँको विचार छ ।

सरकारले व्यवस्था परिवर्तनमै जोडिएका प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र दिवस मनाउँदै आएको छ भने उस्तै सन्दर्भ जोडिने संविधान दिवस र राष्ट्रिय एकता दिवस पनि बिदासहित मनाउँछ । तर यी दिवसहरूको मर्म आमनागरिकको मनमा भने कमै भेटिन्छ । धेरै देशहरूमा व्यवस्था परिवर्तन भएको सम्झनामा नागरिक तहमा निकै उत्साह देखिन्छ । छिमेकी देश भारतमै पनि स्वतन्त्रता दिवस वा गणतन्त्र दिवसमा मानिसहरू मिठाइ बाँड्छन्, दीवापली गर्छन् ।

नेपालमा सरकारले दिपावलीको आग्रह गर्दा पनि दीपावली गर्ने नागरिक कमै मात्र भेटिन्छन् । सबै दिवसमा बिदा नै हुनुपर्छ भन्ने भन्दा पनि बरु के कारण मानिसहरूलाई यी दिवसहरूले जोड्न सकिरहेको छैन भन्ने कारणको समीक्षा गर्नुपर्ने हुन्छ । ल्याइएका परिवर्तनले नेपाली नागरिकको जीवनमा जुन ढङ्गको परिवर्तन ल्याउनुपर्थ्याे त्याे हुन नसक्दा उत्साह कम भएको हुन सक्ने भएकाले यसतर्फ सरकारले ख्याल गर्नुपर्ने हुन्छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया