अर्घाखाँचीको ढिकुरामा चुनढुङ्गा उत्खननमा नगरको सिफारिस नक्कली रहेको दाबी

 चैत ६, २०८० मंगलबार १२:३३:४९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ ढिकुराको सान्डेभामा रहेको चुनढुङ्गा उत्खननका लागि नगरपालिकाले दिएको भनिएको सिफारिस पत्र नक्कली रहेको पाइएकाे छ । चुनढुङ्गाको उत्खनन अनुमति पत्रका लागि नगरपालिकाको लेटरप्याड, छाप र हस्ताक्षर चोरी गरेर काम भएको भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले दाबी गर्नुभएको छ ।

मेयर थापाले यो गम्भीर अपराध भएकोले आफूहरू कानुनी प्रक्रियामा जाने बताउनुभएको छ । गएको मङ्सिर ५ गते नगरपालिकाको लेटरप्याडमा मेयर थापाको हस्ताक्षरसहितको पत्र खानी तथा भूगर्भ विभागमा रहेको छ । विभागलाई नगरले सिफारिस गरी पठाएको पत्रमा चलानी नम्बर ५८५ छ ।

यस्तै नगरपालिकाको चलानी किताबमा ५८५ नम्बरमा सङ्घीय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई पठाएको पत्र छ । आफूहरूले खानी उत्खनन गर्न अनुमति दिनेगरी पत्र नपठाएको मेयर थापाकाे दाबी छ । २०७९ साल भदौ महिनाको १७ गते र असोज महिनाको १४ गते नगर कार्यपालिका बैठकले चुनढुङ्गा उत्खनन गर्न नदिने निर्णय गरेको देखिन्छ ।

कपिलवस्तुको कृष्णनगरमा रहेको विजया सिमेन्ट्सले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुङ्गा उत्खननको अनुमति पत्र पाएको थियो । पटक–पटक प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरेको कम्पनीले २०७९ साल पुस ७ गते भूमिकास्थान–९ का वडाध्यक्ष खेमराज चुँदालीको अध्यक्षतामा प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको थियो ।

पुस ८ गते वडा कार्यालयले काम गर्न मिल्ने गरी आशय पत्र दिएको थियो । नगरपालिकाको कार्यालयले गएको मङ्सिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशय पत्र पठाएको देखिन्छ । तर मेयर थापाले यसमा किर्ते गरिएको आरोप लगाउनुभएको छ । विजया सिमेन्ट्सले पनि आफूहरू कानुनी बाटोमा जाने जनाएको छ । पालिकाभित्रको त्रुटिलाई आफ्नो कम्पनीमाथि थुपारिएको कम्पनीका प्रतिनिधि नवाफ अलीले बताउनुभयो ।

पत्र सक्कली हो या नक्कली नगरपालिकाले जान्ने कुरा भएको बताउँदै उहाँले आफू पनि कानुनी बाटोमा जाने बताउनुभयो । विजया सिमेन्ट्सले प्राप्त गरेको चुनढुङ्गा उत्खननकाे अनुमति पत्र पूर्णरूपमा खारेज गरी कार्यालयलाई जानकारी उपलब्ध गराउन खानी तथा भू–गर्भ विभागलाई पत्राचार भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया