श्रमिकका समस्या, गुनासा र जिज्ञासाको समाधानका लागि ‘श्रमाधान’ सेवा शुरु

 बैशाख १९, २०८१ बुधबार १५:८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले ‘श्रमाधान’ सेवा शुरु गरेको छ ।

आज बुधवार १३५ औँ विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्नेगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको शुरुवात गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान सेवाको शुरुवात गर्नुभयाे ।

सेवाकाे शुरुवात गर्दै मन्त्री अर्यालले स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले श्रमाधान सेवाको शुरुवात गरेको बताउनुभयो । उहाँले याे सेवा बृहत् र व्यावहारिक योजना भएको दाबी गर्नुभयो । उहाँले श्रमाधानले श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले श्रमाधानमा सात वटा क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू समावेश गरिएको जानकारी गराउनुभयाे । उहाँले विदेशबाट फर्किसकेपछि श्रमिकले सिकेको सीप, पुँजी र ज्ञानलाई सम्बोधन गर्ने कार्यक्रम पनि समावेश गरिएको बताउनुभयाे । उहाँले श्रमाधानमा सबै नेपालीको श्रमलाई उच्च प्राथमिकता दिँदै समानताको प्रत्याभूति दिने उद्देश्यले ‘श्रमाधान समता कार्यक्रम’ पनि समावेश रहेको बताउनुभयो ।

सरकारले श्रमिकका समस्या, गुनासो वा जिज्ञासा समाधान गर्न श्रमाधान कल सेन्टरमा फोन गर्दा पैसा नलाग्ने ११४१ फोन नम्बर समेत सार्वजनिक गरिएको छ । समस्यामा परेको श्रमिकले फोनबाट मात्रै नभएर सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया