नुवाकोट र म्याग्दीमा विदेशबाट फर्केकाको तथ्याङ्क सङ्कलनदेखि क्वरेण्टीनमा राख्ने तयारीसम्म

 चैत १५, २०७६ शनिबार १२:३५:२५ | रासस

कोरोना भाइरसको सङ्क्रमण रोक्न म्याग्दीमा विदेशबाट आएकालाई क्वरेण्टीनमा राख्न थालिएको छ । यस्तै नुवाकोटमा पनि विदेशबाट आएकाको लगत सङ्कलन कार्य जारी रहेको छ ।

भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका र विदेशबाट फर्किएका व्यक्ति राख्न नुवाकोट जिल्लामा २ सय ३८ शैय्याको क्वरेन्टीन (एकान्तवास) निर्माण गरिएको छ । 

शङ्कास्पद व्यक्तिलाई राख्नका लागि जिल्लामा रहेका १२ वटै स्थानीय सरकारले आवश्यकताको आधारमा एकान्तबास तयार गरेर सञ्चालनमा ल्याएको जनाएका छन् । 

तत्कालको लागि स्थानीय सरकारले चारदेखि ७५ शैय्यासम्मको एकान्तवास निर्माण गरेको जनाएका छन् भने आवश्यक परेमा पर्याप्त सङ्ख्यामा बढाउन सक्ने तयारी मिलाएको बताएका छन् ।
 
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा एकान्तवास सञ्चालनबारे स्थानीय सरकारले जनाएको प्रतिबद्धताअनरुप आवश्यकतानुसार सबैले निर्माण गरेर सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार विदेशबाट फर्किएका व्यक्ति होम क्वरेन्टीनमा बस्न अटेर गरेकाले उनीहरुलाई विदुर नगरपालिकाले तयार गरेको शैक्षिक तालिम केन्द्रमा राखिएको छ । 

विदेशबाट फर्किएकामध्ये ७१ जना आफ्नै निवासको एकान्तवास बसेका छन् । विदेशबाट फर्कनेको तथ्याङ्क सङ्कलन कार्य जारी गरेकोले यो सङ्ख्या बढ्ने अनुमान छ ।

यस्तै म्याग्दीमा पनि भारत, खाडी र युरोपलगायतका देशबाट आएका सबैलाई क्वरेण्टीनमा राखेर शनिबारदेखि स्वास्थ्य परीक्षण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । 

‘शङ्का र त्रास हटाउन विदेशबाट आएका सबैलाई क्वरेण्टीनमा राख्ने निर्णय लिएका हौँ,’ उहाँले भन्नुभयो, ‘हिलसाइडमा रहेको माउन्ट एभरेष्ट आवासीय माविको पुरानो भवनमा १०, न्यू वेष्ट पोइन्ट आवासीय माविको भवनमा ३० शैय्या क्षमताको क्वरेण्टीन बनाइएको छ ।’ 

जिल्लाका विभिन्न स्थानीय सरकारले आफ्नो क्षेत्रमा क्वरेण्टीन निर्माण गरेका छन् । क्वरेण्टीनमा राखिएकालाई ज्वरो, रुघा र सुक्खाखोकीजस्ता लक्षण देखिएमा बेनी अस्पतालको आइसोलेसनमा राखेर नमूना परीक्षण गर्न काठमाण्डौ पठाइने भएको छ ।

परीक्षणको क्रममा कोरोना ‘पोजेटिभ’ देखिए थप उपचारका लागि काठमाण्डौ र नदेखिए घर पठाइनेछ । 

विदेशबाट आएकालाई घरमै एकान्तबास बस्न भने पनि अटेर गरेपछि क्वरेण्टीनमा राख्न थालिएको हो । 


 

तपाईको प्रतिक्रिया