'लकडाउन'का कारण अलपत्र पचास श्रमिकको उद्धार

 चैत १७, २०७६ सोमबार ९:२०:५२ | रासस

सप्तरी – सप्तरीको पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा अलपत्र  श्रमिकको उद्धार गरिएको छ । ‘लकडाउन’का कारण विभिन्न कारखानामा काम गर्ने श्रमिकको सप्तरीबाट उद्धार गरी आ–आफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईँले जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गएको मङ्गलबारदेखि देशैभरि लकडाउन गरेपछि खाद्यान्न तथा यातायात सेवा नपाउँदा श्रमिक अलपत्र परेका थिए । मोरङ, सुनसरी र सप्तरीका विभिन्न कारखानामा कार्यरत मजदूर यातायात नपाउँदा घरका लागि पैदल नै हिंँडेका थिए ।

उनीहरुलाई प्रहरीले विभिन्न स्थानीय तहसँग समन्वय गरी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सडकमा पैदल हिँंडिरहेका श्रमिकलाई खाजा खुवाई सर्लाहीको लालबन्दीसम्म पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनु भयो ।

प्रनाउ भारतीका अनुसार उद्धार गरिएका सर्लाहीका ३८, रौतहट, बारा र सिरहाका चारचार जनालाई आइतबार आआफ्नो गृह जिल्ला पठाइएको हो ।

तपाईको प्रतिक्रिया