श्रमिकको तलब र सेवा सुविधा कम नगर्न निजी क्षेत्रलाई ओमान सरकारको आग्रह

 चैत २०, २०७६ बिहिबार १६:५६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानले कार्यरत श्रमिकलाई तोकिएको काम र सेवा सुविधा कम नगर्न र जबरजस्ती बिदामा बस्न बाध्य नपार्न सबै निजीव्यवसायीलाई अपील गरेको छ ।

कोरोनाको कारण उत्पन्न परिस्थितीले श्रमिकलाई खाइपाई आएको तलब र सेवा सुविधा कटौती नगर्न ओमानको सरकारी निकायले अनुरोध गरेको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

ओमानका स्वास्थ्य मन्त्रीले आफ्नो सुरक्षामा ध्यान दिन, तोकिए अनुसारको काम गर्न र काम गर्ने समयभन्दा बाहेक बाहिर नहिँड्न अनुरोध गरेका छन् । ओमानले कोरोना भाइरसका कारण उत्पन्न यो अवधिमा भिसा सकिएमा जरिबाना नपर्ने गरी यो अवधि सकिनासाथ निर्णय गर्ने जनाएको छ ।

अनिश्चितकालीन ‘लकडाउन’

१ अप्रिलदेखि अर्को सूचना जारी नहुँदासम्म ओमानको हम्रिया, दारसाइट, रूवी, बादि कविर लगायत क्षेत्रमा हुनेले अत्यावश्यक सामान किन्न बाहेक बाहिर ननिस्कन पनि सरकारले अनुरोध गरेको छ ।

यी क्षेत्रमा अत्यावश्यक सामान किन्न निस्कंदा पनि पदैल नहिँड्न स्थानीय प्रहरीले सूचना जारी गरेको छ । ओमानमा कार्यरत नेपालीलाई अहिलेसम्म कोरोना सङ्क्रमण नदेखिएको दूतावासले जनाएको छ ।

लक्षण देखापरमा सिधै कोभिड १९ को परीक्षण नभई चिकित्सकको सिफारिसपछि मात्र राष्ट्रिय प्रयोगशालामा यसको निःशुल्क परीक्षण हुने व्यवस्था गरिएको छ । कोरोनाबारे थप बुझ्न परेमा हटलाइन १२१२ वा २४४४१९९९ मा सम्पर्क गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया