विदेशमा रहेका नेपालीलाई प्रधानमन्त्रीको आग्रह : जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ

 चैत २५, २०७६ मंगलबार १२:३३:१६ | उज्यालो सहकर्मी

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई आफू रहेकै ठाउँमा सुरक्षित भएर बस्न आग्रह गर्नुभएको छ । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले भन्नुभयो, 'मेरो आग्रह छ– सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ । सङ्कटका काला बादल अवश्य हटेर जानेछन् ।'

लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरु आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित रहेको भन्दै उहाँले सङ्कटको यस घडीमा सरकारको सहानुभूति, साथ र सद्भाव रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले दूतावास र मिशनहरु प्रवासी र गैर आवासीय नेपालीहरुका समस्या समाधानमा क्रियाशील रहेको प्रधानमनत्रीले जानकारी दिनुभयो। 'गैरआवासीय नेपाली सङ्घ लगायत सामुदायिक संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन् ।

विदेशमा रहेका नेपालीहरुको स्थितिका बारेमा सम्माननीय राष्ट्रपतिज्यू स्वयंले नेपाली दूतावासहरु मार्फत जानकारी लिइरहनु भएको छ' प्रधानमन्त्रीले भन्नुभयो, 'नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसंग मैले टेलिफोन संवाद सुरु गरेको छु । परराष्ट्र मन्त्रालयले निरन्तर आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ ।'

उहाँले विदेशबाट घर फर्किएकाहरुलाई अनिवार्य क्वरेण्टीनमा बस्न पनि आग्रह गर्नुभयो ।

'यसबीच हजारौँको संख्यामा नेपालीहरु घर फर्किनु भएको छ । उहाँहरुमध्ये कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धहरुलाई ध्यान नदिएकोले चिन्ता थपिएको छ' प्रधानमन्त्रीले भन्नुभयो, 'उहाँहरुलाई पुनः आग्रह छ– स्वघोषणा गरेर जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा जानुहोस् । तपाइँहरुको लापर्बाही स्वयं तपाइँको परिवार र सिङ्गो समुदायका लागि निकै महङ्गो पर्न सक्छ ।'

 

तपाईको प्रतिक्रिया