साउदीमा कार्यरत श्रमिकलाई दूतावासको अनुरोध : कम्पनीले प्रलोभन देखाएर बसिरहेको ठाउँ सार्न खोजेमा नमान्नु

 बैशाख १०, २०७७ बुधबार १८:२६:३९ | उज्यालो सहकर्मी

काठमाण्डौ – साउदीमा कार्यरत नेपाली श्रमिकलाई रोजगारदाताले बसिरहेको ठाउँबाट अन्यत्र लैजान खोजेमा इन्कार गर्न साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

जानै पर्ने विश्वसनीय आधार भएमा गाडी चालकको मात्र भरमा नभई कम्पनीको प्रतिनिधिको साथमा मात्र जान र सहयोग चाहिएमा साउदी प्रहरीको ९९९ नम्बरमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

कोरोनाको सङ्क्रमणबाट बच्न आफू रहेकै ठाउँमा सुरक्षित भएर बस्न र रोजगारदाताले कुनै सुविधा देखाएर अवसरवादी प्रस्ताव गरेमा वा जबरजस्ती गरेमा त्यस्तो प्रस्तावलाई वास्ता नगर्न पनि दूतावासले साउदीमा कार्यरत श्रमिकलाई अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमण बढेसँगै साउदीमा तारे होटलहरुलाई क्वारेण्टीनको रुपमा प्रयोग गर्न थालिएको छ। तारे होटलहरु क्वारेण्टीनका रुपमा प्रयोग हुन थालेपछि त्यहाँ कार्यरत श्रमिकले आफूहरु समस्या परेको गुनासो दूतावासमा गरेका छन् ।

तर दूतावासले भने रोजगारदाता कम्पनीसँग छलफल गर्दा त्यहाँ काम गर्ने सबैको सुरक्षाका लागि सरकारको निर्देशन अनुसार नै उपायहरु अपनाएको र समस्या नभएको बताएको छ ।

त्यसैले तारे होटलमा कार्यरत श्रमिकलाई आफूलाई परेको समस्याका बारेमा व्यवस्थापनसँग स्पष्ट कुरा राख्न र सुरक्षाका सबै उपाय अबलम्बन गरी काम गर्न दूतावासले भनेको छ ।

 

 

तपाईको प्रतिक्रिया