कतारले सुरु गर्‍यो मनोपरामर्शका लागि हेल्पलाइन

 बैशाख २५, २०७७ बिहिबार ११:४७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारले मनोपरामर्शका लागि नयाँ हेल्पलाइनको व्यवस्था गरेको छ । कोरोना भाइरसका कारण विभिन्न मानसिक समस्या उत्पन्न हुने भएकाले परामर्शका लागि कतारले १६००० नम्बरको नयाँ हेल्पलाइन स्थापना गरेको छ ।

कतारको हमाद प्राथमिक उपचार केन्द्र र मानसिक स्वास्थ्य सेवाको सहकार्यमा हमाद जनरल अस्पतालले मानसिक स्वास्थ्य सम्बद्ध विशेषज्ञहरु सम्मिलित नयाँ हटलाइन व्यवस्था गरेको हो ।

बिहान ७ बजेदेखि राती १० बजेसम्म १६००० सम्पर्क गरी परामर्श लिन सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । साथै महामारीको समयमा मानसिक समस्या कम गर्नको लागि समाचार कम हेर्न, आफ्नो स्वास्थ्यको हेरविचार गर्न, लामो सास लिन, तन्कन या ध्यान गर्न मनोविदको सुझाव छ । 

यस्तै स्वस्थ र सन्तुलित खाना खान कोशिस गर्ने, नियमित व्यायाम गर्ने, पर्याप्त सुत्ने, जाँडरक्सी नखाने, फुर्सदिला क्षणहरुमा आफ्नो रुचिका विषयसम्बन्धी अध्ययन, अभ्यास गर्ने गर्न सकिन्छ ।

परदेशबाट परिवार तथा आफन्तजनसँग नियमित सम्पर्कमा रहने र आफ्नो चिन्ता अनुभव आफूले विश्वास गरेका मानिससँग साट्न पनि मनोविदको सुझाव छ ।

 

तपाईको प्रतिक्रिया