माल्दिभ्सबाट पनि आइपुगे १५६ नेपाली, आज मात्रै पाँच देशबाट ६५१ जना स्वदेश फर्किए

 असार ५, २०७७ शुक्रबार १९:६:० | उज्यालो सहकर्मी
unn.prixa.net

कुवेतबाट फर्किएका महिला

काठमाण्डौ – माल्दिभ्सबाट १५६ जना नेपाली स्वदेश आइपुगेका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड जहाजमार्फत १५६ जना स्वदेश फर्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

समस्यामा परेको नेपाली लिन आज बिहान हिमालय एअरलाइन्सको जहाज माल्दिभ्सको माले गएको थियो ।

आजै साउदी, यूएई, कुवेत र कतारबाट पनि ४९५ जना नेपाली स्वदेश फर्किएका छन् । माल्दिभ्सबाट १५६ जनासहित आज मात्रै वैदेशिक रोजगारीमा गएका र कोरोनाको कारण समस्यामा परेका ६५१ जना नेपाली स्वदेश फर्किएका हुन् ।

साउदीको दमामबाट त्यहाँ समस्यामा परेको नेपालीको स्वदेश फिर्तीको लागि हिमालय एअरलाइनसले पहिलो चार्टर्ड उडान भरेको हो । साउदीबाट १५४ जना स्वदेश फर्किएका छन् । 

यस्तै, यूएईमा समस्यामा रहेका र दूतावासको प्राथमिकतामा परेको १४८ जना नेपाली पनि आजै स्वदेश फर्किएका छ्न् । आज धेरैजसो गर्भवती महिलाहरु फर्किएका छन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेकोमा महिलामध्ये ९४ जना गर्भवती छन् । १० जना बिभिन्न रोगका कारण बिरामी र १० जना रोजगारदाता भागेपछि अलपत्र परेका श्रमिक र ३ जना ज्येष्ठ नागरिकसमेत रहेका छन् । जहाजमार्फत एक जनाको शव पनि आएको छ ।

कुवेतमा आममाफीमा सहभागी १५० जना आज स्वदेश फर्किएका छन् । कुवेतले जजिरा एअरमार्फत दिनहुँ त्यहाँ आममाफीमा सहभागी नेपालीलाई नेपाल पठाइरहेको छ । यसअघि पाँच उडानमार्फत ७४८ जना स्वदेश फर्किसकेका छन् ।

त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकाहरुलाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ । आममाफीमा सहभागी झण्डै तीन हजार नेपाली छन् । उनीहरु सबैलाई कुवेतले निःशुल्क रुपमा ल्याइदिने छ । जसमध्ये अहिले महिला श्रमिकलाई प्राथमिकतामा राखेर स्वदेश फर्काइएको छ । बाँकीको हकमा पनि प्रक्रिया अघि बढिसकेकाले दूतावासले जनाएको छ ।

यस्तै कतारमा आममाफी पाएका ४३ जनालाई कतार सरकारले नै आज काठमाण्डौसम्म ल्याइदिएको छ । कतार एअरवेजको चार्टर्ड जहाजमार्फत ४३ जना आममाफी पाएका नेपाली र २० जनाको शव कतारले आज पठाइदिएको हो । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि रोकिएका शव कतारबाट एकैपटक आएको छ । कुवेतबाट २, साउदीबाट १ र यूएईबाट एक गरी आज मात्रै २४ जना नेपालीको शव ल्याइएको छ ।

1 Comments

  • Bhuwan nepali

    June 19, 2020, 7:39 p.m.

    सरकार म सडकमा सुत्नेलाई पनि उद्दार गरौँ न ...सार्है गाह्रो भयो दिन बिताउन ...बिना पैसा, कोठा पनि छैन / खाना खाबुस अनि अचार खाएर दिन बिताउँदैछु /सरकार सहयोग गर्नुपर्यो / भुवन नेपाली, दुबई 0552762476,

तपाईको प्रतिक्रिया