आज आन्तरिक र अन्तर्राष्ट्रिय गरी २५ उडान, खाडी र मलेसियाबाट आए ९५६ नेपाली

 असार २४, २०७७ बुधबार २०:३०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विभिन्न ६ उडानमार्फत खाडी र मलेसियाबाट ९५६ जना नेपाली स्वदेश आइपुगेका छन् ।

आज कतारबाट मात्रै तीन उडानमार्फत नेपालीहरु स्वदेश आएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४८ जना, हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ र कतार एअरवेजबाट १७७ जना नेपाली स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

कतारमा आममाफी पाएका र घर फिर्ती केन्द्रमा रहेका १६१ जना नेपालीलाई आज कतारले स्वदेश पठाइदिएको दोहामा रहेको नेपाली दूतावासले जनाएको छ । उनीहरुलाई कतार एअरवेजको जहाजमार्फत पठाइएको हो ।

यस्तै आज मलेसियाबाट पनि दुई उडानमार्फत नेपालीहरु स्वदेश आइपुगेका छन् । मलेसियाको क्लालाम्पुरबाट हिमालय एअरलाइन्सले १५१ जना ल्याएको छ भने मलिण्डो एअरले १७६ जना नेपाली लिएर आएको छ । दुवै जहाजमा आउने नेपालीहरु आफैंले टिकट काटेका र रोजगारदाताले टिकट काटिदिएका हुन् ।

नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत आजै यूएईको आबुधाबीबाट १५० जना नेपाली पनि स्वदेश आएका छन् । आजै हिमालय र नेपाल एअरलाइन्स यूएई, कतार र मलेसिया गएका छन् । यी जहाजले भोलि बिहान त्यहाँ समस्यामा रहेका नेपाली लिएर आउनेछन्।

आजै हिमालय एअरलाइन्स १५ जना यात्रु लिए थेन्जिन गएको छ । आज अन्तर्राष्ट्रिय र आन्तरिक गरी विमानस्थलमा २५ वटा उडान भएका छन् । नेपाली ल्याउन र लिन जान गरी आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन् भने आन्तरिकतर्फ १३ उडान भएको विमानस्थलले जनाएको छ ।

तपाईको प्रतिक्रिया