दुई दिन रोकिएको उद्धार उडान भोलिदेखि सुरु हुने, भोलि नै ६ अन्तर्राष्ट्रिय उडान हुँदै

 असार ३०, २०७७ मंगलबार १७:४२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दुई दिन स्थगित भएको नेपालीको स्वदेश फिर्ती भोलि बुधबारदेखि सुरु हुँदैछ ।

भोलि बुधबार नै नेपाली ल्याउन, लिन जान र कार्गो गरी ६ उडान हुने भएका छन् । भोलि नेपाल एअरलाइन्स कुनमिङ्गबाट, सिल्क एअर सिङ्गापुरबाट र मलेसियन एअरलाइन्सकाे जहाज मलेसियाको क्लालाम्पुरबाट नेपाल आउँदैछन् ।

भोलि नै यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एअरलाइन्सका दुई जहाज जाँदैछन् । हिमालयको अर्को जहाज भोलि नै कुनमिङ्ग जाँदैछ । आज पनि विमानस्थलमा तीन अन्तर्राष्ट्रिय र ५ आन्तरिक उडान भएका छन् ।

बुधबारदेखि जुलाई २१ अर्थात साउन ६ गतेसम्म एक हप्ता नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् ।

याे अवधिमा नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न ६ देशबाट ४२ वटा उडान हुने भएको छ ।हिमालय एअरले १६ वटा र नेपाल एअरलाइन्सले १६ उडान भर्नेछन् । त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एअर अरेबियाले २, फ्लाई दुबईले २ र मेलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् । जजिरा एअरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ ।

नयाँ तालिकाअनुसार यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मेलेसियाबाट त्यहाँ समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् ।

त्यसपछि अहिलेकै प्रक्रिया अनुसार उडान गर्ने या नयाँ तरिकाले अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएकाे छ । कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई अहिले विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ ।

तर जुलाई २१ पछि अवस्थाको विश्लेषण गरेर नियमित उडान गर्ने या अहिले झैं चार्टर्ड उडानमार्फत स्वदेश फिर्ती गराउने भन्नेबारे छलफल भइरहेको छ । 

गएको जेठ ३२ गतेदेखि सरकारले विभिन्न देशबाट समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडानलाई अनुमति दिइरहेको छ । नेपालीको स्वदेश फिर्तीका लागि नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र अन्य विदेश जहाजहरु सलाम एअर, एअर अरेबिया, फ्लाई दुबई, कतार एअरवेज, टर्किस् एअरलाइन्स, मलिण्डो एअर, जजिरा एअर, कोरियन एअर लगायतले उडान भरेका छन् ।

1 Comments

  • कृष्ण बहादुर चौधरी

    July 14, 2020, 6:33 p.m.

    म कम्पनी बाट फिनिस भै सकेको र घर जाने तयारीमा । अहिले मेरो तलब पनि आउदैन। मलाई छिट्टो घर जान सहज गरि दिनु हुन अनुरोध गर्दछु।

तपाईको प्रतिक्रिया