नेपाल र इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै

 माघ ८, २०७७ बिहिबार ९:१४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल र इजरायलबीच गएको असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि आज दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर हुने भएको छ ।

प्रोटोकलमा नेपाल सरकारकातर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोदरले हस्ताक्षर गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला हुनेछ । जसअनुसार पाँच सय नेपाली युवा रोजगारीका लागि इजरायल जानेछन् । यसले केयरगिभर, कृषि, होटल तथा रेष्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर खुल्नेछ ।

नेपाली युवाले इजरायली श्रम कानुनअनुसार सेवा सुविधा पाउनेछन् । प्रोटोकलमा हस्ताक्षरपछि एक/दुई हप्ताबाट श्रमिक छनाेट प्रक्रिया सुरु हुने र डेढ/दुई महिनामा पहिलाे चरणका लागि ताेकिएका ५०० नेपाली रोजगारीका लागि इजरायल जाने मन्त्रालयका सचिव तोयम रायले बताउनुभयो ।

दुई देशबीचको सरकार-सरकार संयन्त्र (जीटूजी) बाट नेपाली इजरायल जानेछन् । 

तपाईको प्रतिक्रिया