वैदेशिक रोजगारीमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था गर्न विभागले गर्‍यो सीसीएमसीलाई पत्राचार

 असार ३०, २०७८ बुधबार १६:२४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एण्ड जोन्सन खोप दिन कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीलाई पत्राचार गरेको छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोप दिने निर्णय गरेपछि बुधबार श्रम सचिव स्तरीय निर्णय गरी जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराउन पत्राचार गरिएको विभागमा महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा जानेहरू तत्काल जानु पर्ने र कतिपय देशले भेरोसेल खोपलाई मान्यता समेत नदिएकाले एक डोज मात्र लगाए पुग्ने भएकाले जोन्सन एण्ड जोन्सन खोप लगाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

‘भेरोसेल दुई डोज लगाउन पर्छ, श्रमिकसँग एक महिना कुर्ने समय हुँदैन,’महानिर्देशक दवाडीले भन्नुभयो,‘श्रमिकको सहजताका लागि र उहाँहरूको समस्यालाई मध्येनजर गर्दै पत्राचार गरिएको छ ।’

सरकारले असार २८ गते खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई भेरोसेल खोप लगाउने निर्णय गरेको थियो भने अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोपको प्राथमिकतामा भने नेपालमा रहेका शरणार्थीलाई समेत राखेको थियो ।

शरणार्थीलाई एक डोज लगाउँदा पुग्ने जोन्सन एण्ड जोनसनको र विदेशमा काम गर्ने नेपालीलाई चार हप्ताको अन्तरमा लगाउनुपर्ने भेरोसेल खोप दिने सरकारी निर्णयको व्यापक आलोचना भएको थियो ।

सरकारको यो निर्णयले हजारौँ नेपाली विदेशको रोजगारी गुमाउने अवस्थामा पुगेको भन्दै श्रमिकहरूले नै गुनासो गरेका थिए ।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका कतार, कुवेत, साउदी जस्ता देशले भेरोसेललाई मान्यता दिएका छैनन् । त्यहाँ मोडेर्ना, अष्ट्राजेनेका, फाइजर र जोन्सन एण्ड जोन्सनले मात्र मान्यता पाएका छन् ।

भेरोसेल खोपको दुई मात्रा लगाउन श्रमिकले कम्तीमा २१ दिनदेखि एक महिनासम्म कुर्नुपर्छ र खोप कुर्दा श्रमिकको रोजगारी गुम्ने खतरा छ । जोन्सन एण्ड जोन्सनको खोप एक डोजको हो र यो खोप लगाएपछि श्रमिक तुरुन्तै काम गर्ने देशमा जान पाउने भएकाले विभागले यसका लागि पहल गरेको छ । 

 

तपाईको प्रतिक्रिया