सीपयुक्त जनशक्तिलाई बोर्डले रोजगारदातासँग जोड्ने

 जेठ ३, २०७९ मंगलबार १६:५२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सीप तालिम लिएकालाई रोजगारदातासँग जोड्न वैदेशिक रोजगार बोर्डले अनलाइन सिस्टमको विकास गर्ने भएको छ ।

बोर्डबाट निःशुल्क सीप तालिम लिएकाहरूको विवरण सिस्टममा राख्ने र सीपयुक्त जनशक्ति चाहने रोजगारदाताले अनलाइनबाटै श्रमिक छनौट गर्न सक्ने गरी अनलाइन प्लेटफर्मको विकास गरिएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बोर्डबाट निःशुल्क सीप तालिम लिएकाहरूको जानकारी बोर्डले अनलाइन सिस्टममा राख्ने छ भने आन्तरिक श्रम बजारमा माग भइआएको रोजगारीको विवरण पनि रोजगारदाताले अनलाइन सिस्टममा राख्न सक्नेछन् । 

हातमा सीप भएकाहरूले त्यही प्लेटफर्ममार्फत आफ्नो सीप अनुसारको कामको माग भए नभएको हेर्न सक्ने र यदि उपलब्ध भएका आवेदन दिन मिल्ने व्यवस्था हुने छ । 

माग भएको काम र बोर्डमार्फत निःशुल्क सीप तालिम लिएका श्रमिकको सीप अनुसार ‘जब म्याचिङ’ भएमा बोर्डले नै एसएमएसमार्फत पनि श्रमिक र रोजगारदातालाई जानकारी दिनेछ ।

‘पुनः एकीकरण कार्यक्रमलाई सहयोग पुग्ने गरी एक खालको अनलाइन सिस्टम विकास गरेका हौँ, यसबाट सीप तालिम लिएका श्रमिकको लिस्ट हुने छ भने श्रम बजारमा माग भएको कामको पनि लिस्ट हुनेछ’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो ‘यसबाट श्रमिकलाई काम खोज्न सहज हुनेछ भने, रोजगारदाताले पनि आफूलाई चाहिएको सीपयुक्त जनशक्ति लिन सक्नेछन् ।’

यो अनलाइन सिस्टममा वैदेशिक रोजगार विभागको अनलाइन जब पोर्टललाई समेत समावेश गर्ने बोर्डको योजना छ । यसो हुँदा आन्तरिक श्रम बजारमा भएको रोजगारी मात्र होइन विदेशबाट माग भई आएको कामको समेत विवरण श्रमिकहरूले पाउनेछन् ।

पहिलो चरणमा बोर्डको यो सिस्टममा वैदेशिक रोजगार बोर्डबाट सीप तालिम लिएर सीप परीक्षणमा पास भएकाहरूको विवरण राख्ने छ । तर बिस्तारै सीपयुक्त जनशक्तिले आफूसँग भएको सीप अनुसार बायोडाटा सिस्टममा अपलोड गरी यही प्लेटफर्मबाट रोजगारी खोज्न सक्नेछन् ।

कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो ‘सरकारले करोडौँ रकम खर्च गरेर सीप सिकाउने तर रोजगारदाताले सीप युक्त जनशक्ति नपाउने र सीपयुक्त जनशक्ति भने काम नपाएर बिदेसिनु पर्ने बाध्यता छ, यही बाध्यताको अन्त्य एउटा सुरुवात हो यो ।’

अहिले आन्तरिक रूपमा काम भइरहेकाले सार्वजनिक रूपमा यो प्लेटफर्म छिट्टै ल्याउने बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया