दिल्लीमा रहेको नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी जारी

 जेठ २५, २०७९ बुधबार १८:२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतको नयाँ दिल्लीमा रहेको नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी जारी हुन थालेको छ ।

आज अर्थात् जेठ २५ गतेदेखि विद्युतीय राहदानी जारी गर्न थालेको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । भारतमा रहेका नेपालीले अब दिल्लीस्थित नेपाली दूतावासबाटै विद्युतीय राहदानी लिन सक्नेछन् ।

विद्युतीय राहदानीका लागि पुरानो अथवा हस्तलिखित राहदानी र विदेशस्थित नेपाली नियोगबाट जारी भएको राहदानी बाहक नेपालीले नयाँ राहदानी बनाउन चाहेमा पहिले आफ्नो नागरिकताको प्रमाणपत्र र नाबालकको हकमा परिचयपत्रको प्रतिलिपिसहित दूतावासमा उपस्थित भई वा दूतावासको इमेल ठेगानामार्फत निवेदन दिनुपर्छ ।

 नियोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र/नाबालक परिचयपत्रको आधिकारिकता बुझेर सूचित गरेपछि मात्र विद्युतीय राहदानीका लागि प्रिइनरोलमेन्ट गर्न पर्छ । 

प्रिइनरोलमेन्ट फारम भरेपछि तोकिएको मिति र समयमा दूतावासमा आफैँ उपस्थित भई प्रत्यक्ष रूपमा फोटो तथा बायोमेट्रिक डाटा भर्नपर्छ । 

नयाँ विद्युतीय राहदानी बनाउँदा ५ हजार ९८० भारु शुल्क लाग्ने छ भने दश वर्षभन्दा कम उमेरका नाबालकको हकमा राहदानीको म्याद वा पाना सकिई नयाँ विद्युतीय राहदानीको आवेदन दिँदा २ हजार ९९० भारु शुल्क लाग्ने छ ।

राहदानी हराएमा वा क्षति भई नयाँ राहदानीको लागि आवेदन दिँदा भने शुल्क दोब्बर लाग्ने दूतावासले जनाएको छ । एमआरपी पासपोर्टको म्याद रहँदासम्म विद्युतीय राहदानी बनाउन आवश्यक छैन । 

विद्युतीय राहदानी जारी गर्न थालेपछि दूतावासले एमआरपी पासपोर्टको लागि आवेदन लिन बन्द गरेको छ । 

तपाईको प्रतिक्रिया