मन्त्री कुँवर र साउदीका राजदूत हैमदबीच भेट, नेपालीले भोग्न परेको समस्या समाधान गर्ने प्रतिबद्धता

 भदौ ३१, २०७९ शुक्रबार १५:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : मन्त्रीको सचिवालय

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदबीच भेटवार्ता भएको छ ।

श्रम मन्त्री कुँवर र राजदूत हैमदबीच शुक्रबार श्रम मन्त्रालयमै भेटवार्ता भएको हो । 

भेटमा साउदीमा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । श्रम मन्त्री कुँवरले साउदीमा काम गर्न जाने नेपालीको समस्या समाधान र उनीहरूको सुरक्षाका लागि सहकार्य गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

यस्तै मन्त्री कुँवरले नेपालबाट साउदीमा सीपयुक्त जनशक्ति पठाउनका लागि त्यहाँको सरकारले पनि सहयोग गर्नु पर्नेमा जोड दिनुभएको छ ।

यसका साथै साउदीमा काम गर्ने नेपाली श्रमिकलाई त्यहाँको सरकारले रोजगारको अवधि सकिएपछि बहिर्गमन भिसा समयमै नदिँदा नेपालीले समस्या भोग्न परेको विषय पनि उजागर गर्दै मन्त्री कुँवरले यस विषयमा विशेष सहयोग गरिदिन आग्रहसमेत गर्नु भएको छ ।

राजदूत हैमदले नेपाल र साउदी अरेबियाको सम्बन्ध  मैत्रीपूर्ण भएकाले नेपाली श्रमिकले भोग्ने गरेका समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया