हङकङसँगको एकदिवसीय शृङ्खलामा नेपालको 'क्लिन स्वीप'
पुस ५, २०८१ शुक्रबार
लमजुङ – सुन्दरबजार नगरपालिका ९ धारापानीका नवराज अधिकारीले पाँच वर्षसम्म मध्य मर्स्याङ्दीमा जागिर खानुभयो । उहाँलाई जागिरको कमाइले घरखर्च धान्न सजिलै भएको थियो । तर काम सकिएपछि उहाँलाई घरखर्च चलाउन पनि सकस भयो । त्यसैले उहाँले पैसा कमाउन विदेश जाने निर्णय गर्नुभयो ।
आफ्नोसँगै घरपरिवारको सुख–खुसीको सपना आँखाभरी सजाएर उहाँ परदेशिनेको भिडमा मिसिनुभयो ।
पराइ देश : दुःख ज्यादा, कमाइ कम, रमेन मन
२०६६ सालमा साउदी अरब पुग्नुभएका नवराजले चार वर्षसम्म मरुभूमिमै श्रम गर्नुभयो, पसिना बगाउनुभयो । पराइ देश । चर्को घाम । दुःख धेरै । कमाइ कम । त्यसैले पनि उहाँको मन साउदीमा रम्न सकेन । अनि नवराज स्वदेश फर्कनुभयो ।
घर फर्किएपछि उहाँले निर्वाहमूखी ढङ्गले गर्दै आएको बाख्रापालनलाई व्यवसायमा बदल्ने सोच बनाउनुभयो । तर व्यावसायिकरूपमा अघि बढाउनुभएन । पहिलो विदेश बसाइ त्यस्तै भए पनि घरपरिवारको मुहारमा खुसी ल्याउने सपनालाई पछ्याउँदै उहाँ फेरि दोस्रो पटक विदेश जानुभयो ।
नवराज बहराइन पुग्नुभयो । दुई वर्ष उतै दुःख गर्नुभयो । तर दोस्रो विदेश बसाइमा पनि उहाँले सोचेको जति कमाउन सक्नुभएन । ‘मेरा लागि विदेश होइन रहेछ, अब स्वदेशमै केही गर्छु’ भन्ने अठोट लिएर उहाँ घर फर्कनुभयो । बाख्रापालन गर्ने सोचलाई मूर्त रूप दिन उहाँ कम्मर कसेर लाग्नुभयो ।
चार वर्ष साउदी, दुई वर्ष बहराइन गरी छ वर्ष परदेशमै बिताउनुभएका नवराजले बहराइनबाट फर्किएसँगै व्यावसायिक बाख्रापालन सुरु गर्नुभएको हो ।
‘लामो विदेश बसाइ पनि खासै फलदायी भएन । घर फर्किएँ । त्यसै बसेरमात्रै पनि भएन । घरपरिवारको गर्जो टार्न भए पनि केही न केही उद्यम त गर्नैपर्यो । त्यसैले बाख्रापालनतिर लागेँ’, बाख्रा चराइ पिठ्ँयुमा कटुसको स्याउला बोकी घर फर्कँदै गर्नुभएका नवराजले भन्नुभयो ।
घर–परिवारको सल्लाहमा व्यवस्थित आधुनिक बाख्राको खोर निर्माण गरी उहाँले २०७७ चैतदेखि व्यावसायिक बाख्रापालन गर्नुभएको हो । व्यवस्थित आधुनिक बाख्राको खोर निर्माण र बाख्रा खरिदमा गरी सात लाख रुपैयाँको लगानीबाट सुरु भएको उहाँको बाख्रापालन व्यवसायले अहिले गति लिएको छ । लाखौँ लगानी भइसकेको छ ।
चौध लाख लगानी, वार्षिक पाँच लाख आम्दानी हुने आशा
सुरुमा नौ वटा माउ बाख्राबाट व्यवसाय सुरु गर्नुभएका नवराजको फर्ममा अहिले साना ठूला गरी ५१ वटा बाख्रा छन् । उहाँले जमुनापारी, खरी र बोयर क्रस जातका बाख्रा पाल्नुभएको छ ।
‘अहिले लगानीको क्रममै छौँ । चौध लाख रुपैयाँ लगानी भइसक्यो । व्यावसायिकरूपमा विस्तारै उत्पादन लिने क्रममा छौँ । वार्षिक पाँच लाख रुपैयाँ आम्दानी हुने आशा छ,’ घर गोठछेउमा घाँसको भारी बिसाउँदै नवराजले भन्नुभयो । गएको दशैँमा मात्रै खसी बोका बिक्रीबाट दुई लाख रुपैयाँ आम्दानी लिएको उहाँले बताउनुभयो ।
विदेशमा रहेका श्रीमानलाई स्वदेश झिकाइ यस व्यवसायमा लाग्ने हौसला–प्रेरणा, साथ–सहयोग नवराजलाई श्रीमती तुलसी खनाल अधिकारीले दिनुभएको हो ।
मेहनती अधिकारी दम्पती : बाख्रापालनसँगै व्यावसायिक तरकारी खेती
अहिले अधिकारी दम्पती ‘घाम उदाएदेखि अस्पताएसम्म’ बाख्राकै स्याहारसुसारमा बिताउनुहुन्छ । दुःख, मेहनत गर्न सकेमा बाख्रा पालनबाटै राम्रो कमाइले जीवन चलाउन सकिने अधिकारी दम्पती बताउँछन् । परदेश जाँदा लाग्ने खर्च, उता बगाउने पसिना घरदेशकै माटोमा खर्चन, बगाउन सके यहीँ बसेर जीवन चलाउन सकिने उहाँहरूको अनुभव छ ।
‘कि लामो बाटो, कि बाख्रा पाठो’ उखान सुनाउँदै तुलसी खनाल अधिकारीले श्रीमानले चराएर ल्याएका बाख्रालाई कुँडो खुवाउँदै भन्नुभयो, ‘अब लामो बाटो छोड्नुस् । बाख्रा पाठो गर्नुस् । व्यावसायिकरूपमा बाख्रापालन गर्नुस् । सम्भावना यहीँ छ ।’
मेहनती अधिकारी दम्पतीले २०७७ सालदेखि ‘अधिकारी कृषि तथा पशुपालन फर्म’ दर्ता गरी व्यावसायिक बाख्रापालनका साथमा गाउँकै तीन रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । तरकारी खेतीले पनि उहाँहरूको जीवनस्तर माथि उठाएको छ । उहाँहरूले बाह्रै महिना टनेलमा काउली, बन्दा, केराउ लगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ ।
उत्पादन भोटेओडारमै खपत
‘उत्पादनले बजार नपाउला भन्ने छैन । तरकारी लिन घरमै आउनुहुन्छ । गाउँको सफा, ताजा तरकारी भोटेओडार बजारमै राम्रो मूल्यमा खपत हुँदै आएको छ’, तुलसीले भन्नुभयो ।
अधिकारी दम्पतीका एक छोरा, एक छोरी छन् । कृषि कर्मबाटै उहाँहरूले व्यवहार चलाउनुभएको छ । ‘घरपरिवारको साथमा दुःख–सुख, हाँसो–खुसी आपसमा बाँड्दै घरगाउँकै माटो कोपरी कृषि उद्यममा रम्न पाउँदा हामी खुसी छौँ’, खोरमा हुलिएका बाख्रालाई घाँस हाल्दै नवराज र तुलसीले भन्नुभयो ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।