‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा अहिले क्रिकेटको उत्सव चलिरहेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले देशमा खेलकुदको ठूलै पर्व चलिरहेको संकेत दिएको छ । देशमा चौतर्फी निराशा छाइरहेको बेलामा कीर्तिपुरमा चलिरहेको क्रिकेटको उत्सवले आशा, उमङ्ग जगाउने र उत्साह थप्ने काम पनि समानान्तर रूपमा भइरहेको छ। यसले हरेक तह र तप्काका नेपालीलाई जोडेको छ । एनपीएल नेपालको अहिलेसम्मकै सबभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । जसमा आठ वटा टिमसहभागी छन्। नेपालमा क्रिकेट अब खेल मात्र नभई अर्थतन्त्रसँग पनि प्रत्यक्ष जोडिएको छ । विभिन्न व्यापारिक घरानाले लगानी गरेका फ्रेन्चाइज टिम, त्यसमा स्वदेशी मात्र नभई विदेशी क्रिकेटरको सहभागिता उल्लेखनीय छ । देश आर्थिक मन्दीमा छ भनिरहेका बेला फ्रेन्चाइज टिम किन्नका निम्ति नेपालका व्यापारिक घरनाबीच तँछाडमछाड जस्तो अवस्था देखिएको थियो ।
भारतमा सन् २००८ मा इन्डियन प्रिमियर लिग (आईपीएल)शुरू भएपछि त्यसले क्रिकेट खेललाई निकै ठूलो व्यवसायिकतातर्फ लगेको थियो । अहिले एनपीएलको सफलताले गर्दा नेपाली क्रिकेट पनि ठूलो व्यवसायिकतातर्फ जाने र निजी लगानी आकर्षित हुने देखिएको छ । राम्रो भविष्य देखेकै कारण अहिलेदेखि नै क्रिकेटमा लगानी बढ्न थालेको छ । यसैको उदाहरण हो रुपन्देहीमा बन्दै गरेको एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम । अहिले अस्ट्रेलियामा बसेर उद्यम गरिरहेका गुल्मीका विनोद कुँवरले ४० करोडरुपैयाँभन्दा धेरै लगानीमा स्टेडियम बनाउँदै हुनुहुन्छ । मैदान तयार भइसकेको छ भने फ्लडलाइट जडान र प्याराफिटको काम भइरहेको छ । नेपाली क्रिकेटको राम्रो भविष्य देखेरै लगानी गरेको विनोद कुँवरको भनाइ छ । यसै विषयमा अर्जुन पोख्रेलले विनोद कुँवरसँग गरेको कुराकानी–
रुपन्देहीमा बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियमको पछिल्लो प्रगति के छ ?
एक्स्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम अन्तर्गत मैदान र पीचको काम पूरा भएको लामो समय भइसकेको छ । अहिले भीआईपी भवनको दुई तला ढलान भएर सकिन थालेको छ । फ्लडलाइटको काम पनि तीव्र गतिमा भइरहेको छ । खम्बाहरू राख्नका लागि बेसको सबै काम सकिएको छ । लाइटका लागि खम्बा विदेशबाट आउँदैछन् । ४५ दिनभित्रमा खम्बा ठड्याउने काम सक्ने योजना छ । त्यसबाहेक अभ्यास पिचका लागि काम शुरू भइरहेको छ ।अभ्यास मैदान सम्याउने काम पनि भइरहेको छ । त्यसपछि प्याराफिटको काम गर्ने योजनामा छौँ ।
आउँदो फागुन महिनासम्ममा मैदानमा फ्लडलाइट जडान सकेर रातिमा खेल्न मिल्ने बनाउनेगरी काम गरिरहेका छौँ । फागुनपछि अनौपचारिक रूपमा रातिमा पनि खेल्न मिल्नेछ । नेपाली नयाँ वर्षको अवसर पारेर फ्लडलाइटमा औपचारिक खेलहरू खेलाउने प्रयास गरिरहेका छौँ । नेपाली नयाँ वर्ष २०८२नेपाली खेलकुदका लागि विशेष हुन सक्नेछ ।
नेपालमा सरकारी स्तरबाट समेत अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन खासै पहल नभएकोसमयमा तपाईंले चाहिँ करोडौं रुपैँया लगानी गर्ने आँट गर्नुभयो । त्यस्तो सोच र योजना कसरी आयो ?
नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने सोच निकै पहिलेदेखि नै आएको हो । तर लगानी नहुँदा आँट्न सकेको थिइनँ । म यहाँ अस्ट्रेलिया आएपछिस्तरीय मैदान देखेर नेपालमा पनि यस्तै मैदान बनाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अस्ट्रेलियाको जस्तो गुणस्तरको मैदान नेपालमा नभएकाले एउटा मैदान बनाउने हुटहुटी लामो समयदेखि चलिरहेको थियो । नेपालमा त्रिवि क्रिकेट मैदानको विकल्प नै नभएको कुराले पनि घोचिरहेको थियो । अलिअलि पैसा कमाउन थालेपछि मैले आईसीसीको मापदण्डअनुसारको मैदान बनाउनका लागि अध्ययन थालेको थिएँ । त्यसैले मैले राम्रो मैदान र स्टेडियमको थालनी गरेको हुँ ।
अहिले एउटा अन्तर्राष्ट्रिय खेलखेलाउन मिल्ने खालको मैदान र अर्को अभ्यासका लागि मैदान बनेको छ । फ्लडलाइटको काम अन्तिम चरणमा पुगेको छ । पाँच हजार दर्शक बस्ने स्टेडियमको काम पनि धमाधम भइरहेको छ ।
एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा अहिलेसम्मको खर्च कति हो र अब कति खर्च हुने अनुमान छ ?
मैले अहिलेसम्म कति खर्च भयो भनेर ठ्याक्कै हिसाब निकालेको छैन । तर जग्गा किन्दा नै १०/१२ करोड रुपैयाँ खर्च भयो । अझै पनि जग्गा किन्ने क्रम जारी छ । मैदान बनाउँदा ६ करोड रुपैयाँ हाराहारीमा खर्च भएको अनुमान छ । अहिले भीआईपी भवन बनाउँदा पाँच करोड रुपैयाँ खर्च भएको छ । फ्लडलाइटको काम पनि समानान्तर रूपमा भइरहेको छ । यसरी हेर्दा ३० करोड रुपैयाँ जति खर्च भएको अनुमान छ । अब २५÷३० करोड रुपैयाँ थप लगानी लाग्ने सम्भावना छ । कुल ५५ करोड लगानीमा हामीले एउटा विश्वस्तरीय स्टेडियम बनाउने लक्ष्य लिएका छौँ । लक्ष्यअनुसार काम पनि भइरहेको छ ।
क्रिकेट स्टेडियममा व्यक्तिगत रूपमा यति धेरै लगानी कसरी जुटाउनु भएको छ ?
यो सबै पैसा मैले कतै उपहारमा पाएको र विना मेहनत कमाएको होइन । निकै परिश्रम गरेर कमाएको पैसा हो । आम्दानीको स्रोत भनेको मैले अस्ट्रेलियामा सञ्चालन गरिरहेको एक्स्ट्राटेक कम्पनी हो । जहाँबाट मैले सूचना प्रविधि क्षेत्रका विभिन्न सीप सिकाउने तालिम दिन्छु । अहिले मेरो कम्पनी अस्ट्रेलियामा मात्रै सीमित नभई अमेरिका र बेलायतमा पनि विस्तार भएको छ । मेरो कम्पनीमा तालिम लिएर विद्यार्थीले यहाँका विभिन्न कम्पनीमा राम्रो जागिर पाउनुहुन्छ । मैले तालिम दिएबापत विद्यार्थीले मलाई दिएको पैसा नै क्रिकेट स्टेडियमका लागि लगानी हो । तालिमले गर्दा एकातिर विद्यार्थीको भविष्य बनेको छ भने नेपालमा क्रिकेट मैदान पनि बनेको छ । यसबाट म निकै खुशी छु ।
सबै निर्माण पूरा हुँदा मैदान कस्तो बन्नेछ ?
मैले पटक पटक भनेको छु, नेपालमा सबै मापदण्डसहितको एउटा गज्जबको अन्तर्राष्ट्रिय स्टेडियम हामी बनाउँदैछौँ । हामीले अन्तर्राष्ट्रिय स्तरको मैदान, अभ्यास मैदान, फ्लडलाइट, भीआईपी भवनलगायतका काम सम्पन्न गरिसकेका छौँ, केही काम बाँकी छन् । अब छिटै पाँच हजार जना अटाउने स्टेडियमको काम पनि शुरू गरिहाल्छौँ । राम्रो सिटसहितको प्याराफिट बन्नेछ । भविष्यमा हामीले २० देखि २५ हजार दर्शक क्षमता भएको ठूलो प्याराफिट बनाउने, ठूला डिजिटल स्क्रिनसहितका सुविधा पनि थप गर्छाैँ । तपाईं, हामीले विदेशमा देखेका स्तरीय र सुविधा सम्पन्न स्टेडियम बन्नेछ ।
तपाईंले के सम्भावना देखेर यति धेरै लगानी गर्नुभएको छ ?
नेपालमा क्रिकेटको प्रचुर सम्भावना छ भन्ने कुरा नेपाल प्रिमियर लिगले देखाइसकेको छ । अहिले त्रिवि क्रिकेट मैदानमा बस्ने ठाउँ छैन, दर्शकरुखको टुप्पोमा बसेर समेत खेल हेर्न बाध्य छन् । पैसा तिरेर पनि राम्रो ठाउँमा बस्न नपाउने बाध्यता छ । हाम्रो स्टेडियम तयार भयो भने त्रिवि क्रिकेट मैदानको विकल्प बन्छ । अहिले पनि काठमाण्डौ उपत्यकाबाहिर एउटा राम्रो मैदान भइदिएको भए,केही खेल काठमाण्डौबाहिर पनि खेलाउन सकिन्थ्यो होला ।
अर्को कुरा, रातिमा खेल खेलाउनका लागि हामीसँग संरचना नै छैनन् । दिउँसोको समयमा जागिर गर्ने, पढ्ने र अत्यावश्यक काम हुनेले रातिको समयमा स्टेडियममै पुगेर खेल हेर्ने चाहना राखेका छन् । हामीले रातिको समयमा खेल खेलाएमा हजारौं दर्शक खेल हेर्न पुग्न सक्छन् । एक्स्ट्राटेक ओभलको एउटा लक्ष्य रात्रिकालीन खेल खेलाउनु पनि हो । नेपालमा रात्रिकालीन क्रिकेटको भविष्य मैले देखेको छु ।
नेपालमा क्रिकेट कल्चरको कुरा मैले केही वर्षअघि नै गरिसकेको थिएँ । स्पोर्ट्स बिजनेसको कुरा पनि उठाएको थिएँ । अहिले नेपाल क्रिकेट सङ्घ (क्यान) र पारस खड्काजीले स्पोर्टस् बिजनेस के हो भनेर प्रमाणित गर्नुभएको छ । पारसजीले हाम्रो आशाअनुसार नै काम गरिरहनुभएको छ ।
भारतमा जसरी क्रिकेट क्रेज बढिरहेको छ, नेपालमा पनि अब त्यस्तै बन्छ । त्यो क्रेज सम्बोधन गर्नका लागि विभिन्न ठाउँमा स्टेडियम बन्न आवश्यक छ । चितवनको भरतपुरमा पनि बन्दैछ । अब एउटा पूर्वमा चाहियो र एउटा कर्णाली वा सुदूरपश्चिममा चाहिएको छ । अहिलेका सबै दृश्य हेर्दा नेपालमा क्रिकेट बिजनेसको सम्भावना निकै धेरै छ । स्टेडियममा लगानी गर्नेहरू पछुताउनु पर्दैन, फाइदा नै हुन्छ जस्तो लाग्छ ।
स्टेडियममा ५५ करोड रुपैयाँ हाराहारीमा खर्च हुने देखियो, स्टेडियमलाई आर्थिक रूपमा चाहिँ कसरी सक्षम र सफल बनाउन सकिन्छ ?
मैले तत्कालै कुनै फाइदा लिन सक्छु भनेर बनाएको परियोजना होइन । अहिले नेपालमा जुन तरिकाले क्रिकेटको क्रेज बढिरहेको छ, यो नै हामीले लगानीको प्रतिफल पाउने आधार हो । नेपालमा क्रिकेटको क्षेत्रमा लगानी गर्न इच्छुकको सङ्ख्या पनि बढिरहेको छ । अहिलेको अवस्थाले नै भन्छ, नेपालमा अब क्रिकेट पुरानो दिनमा पक्कै जाँदैन ।
अब त नेपाली मात्रै नभई विदेशी लगानी पनि भित्रिने सम्भावना देखिएको छ । विदेशी र विदेशमा बस्ने धनाढ्य नेपालीले क्रिकेटलाई पनि लगानीका लागि राम्रो क्षेत्रकारूपमा हेरेका छन् ।
एक्स्ट्राटेक ओभल स्टेडियमले मलाई पनि आर्थिक रूपमा सफल बनाउन सक्छ । क्यानबाट स्वीकृत भयो र मैले भनेअनुसारको अवस्था भयो भने आफैंले केही ठूला लिग खेलाउन सकिन्छ कि भनेर पनि सम्भावना खोजिरहेको छु ।
मेरो उद्देश्य, क्यानको उद्देश्य र नेपाली क्रिकेट प्रेमीहरूको उद्देश्य भनेको नेपालको क्रिकेटलाई कसरी माथि पुर्याउने भन्ने नै हो। क्यान र सरकारसँग सहकार्य नगरिकन म मात्रै अघि बढ्ने कुरा आउँदैन । त्यसैले मैले स्टेडियम बनाउने बेलामा नै क्यानसँग पर्याप्त छलफल गरेको थिएँ ।
मैले स्टेडियमबाट थुप्रै पैसा कमाउने लक्ष्य पनि राखेको छैन । देशको क्रिकेट क्षेत्रमा केही योगदान गर्ने मेरो चाहना हो । त्यही भएर लगानीको कुरामा मलाई त्यति धेरै चिन्ता पनि छैन । अबको १०/१२ वर्षमा त हामी टेस्ट मान्यताप्राप्त देश पनि बन्छौँ होला । त्यसपछि सम्भावनाका झन् धेरै ढोका खुल्नेछन् ।
पछिल्लो समय नेपालमा क्रिकेटको क्षेत्रमा भइरहेको लगानी एकदमै ठूलो छ, यी लगानीप्रति तपाईंको धारणा के छ ?
नेपाल प्रिमियर लिगका लागि जुन लगानी भइरहेको छ, त्यो देखेर मलाई धेरै खुशी लागेको छ । एनपीएलमा भइरहेको खर्च ठूलो छ । क्यानले पनि मैदानलाई चिटिक्क बनाएको छ, स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण गराइरहेको छ, ब्रायन लारालाई समेत ल्याइएको छ । यसले नेपाली क्रिकेटको उचाइ बढेको छ । नेपाली क्रिकेटको उचाइ बढ्नु भनेको लगानीकर्ताको पनि चर्चा बढ्नु हो । विश्व स्तरमा नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ । यी सबै दृश्यले नै भन्छन्, नेपाली क्रिकेटले केही न केही परिवर्तन लिएर आएको छ । त्रिवि क्रिकेट मैदानमा हरेक दिन पुग्ने हजारौं दर्शकको सङ्ख्याले पनि लगानीकर्तालाई हौसाएको छ । दर्शकको यो साथबाट सबैभन्दा धेरै खुशी हुनेमध्ये म पनि एक हो ।
नेता, कलाकार, व्यापारी, विद्यार्थी, गृहणीलगायत सबै क्षेत्रका मानिस क्रिकेटतर्फ आकर्षित भएका छन् । क्रिकेटलाई धर्मकारूपमा परिवर्तन गर्ने मेरो जुन एउटा अठोट थियो त्यो शुरुआत भएको छ।
नेपालमा फ्रेन्चाइज लिगको सम्भावना के छ ?
नेपालमा फ्रेन्चाइज लिग सफल हुने सम्भावना एकदमै छ । सरकार र क्यानको सहकार्य र समन्वय भएमा सफल नहुने कुरै छैन । एउटा व्यक्तिले गरेर मात्रै हुँदैन । सरकार बढी लाग्यो भने कहिले पनि असफल भन्ने हुँदैन । यसअघि निजी क्षेत्र मात्रै सक्रिय भएर गरेको नेपाल टी–२० निकै विवादित भयो । मिलेमतोका कुरा आए, विभिन्न विकृति आए । अहिले क्यानको सक्रियतामा भएको यो लिगमा त्यस्ता नराम्रा र विकृतिको कुरा सुन्न परेको छैन । जसले गर्दा फ्रेन्चाइजी टिमहरूले अब चाहिँ क्रिकेटको क्रेजका लागि भए पनि लगानी गर्छन् ।
अन्तिममा एउटा प्रश्न, तपाईंले एनपीएलका टिमहरू किन्ने अड्कलबाजी थिए, किन किन्नुभएन ?
तपाईंले सही भन्नुभयो । मैले पनि क्लब किन्ने सोच राखेको हो । योजना पनि बनाएको थिएँ । तर एउटा कामशुरू गरिसकेपछि त्यसलाई सफल नबनाएसम्म धेरै ठाउँमा हात हाल्नु हुँदैन। मैले एक्स्ट्राटेक मैदान र स्टेडियमको काम पूरा नगरेसम्म अरू क्षेत्रमा हात हाल्नु खासै उचित होइन । मलाई एउटा क्लब किन्नका लागि खासै ठूलो समस्या थिएन । तर म नै जताततै संलग्न हुनु पनि राम्रो होइन । पारस खड्का, शक्ति गौचनलगायतका क्रिकेटका दिग्गजहरूले नै अहिले क्लब किन्नुभन्दा आफ्नो स्टेडियमको प्रोजेक्टमा लाग्नु राम्रो होला भन्ने सल्लाह दिनुभयो । त्यसैले म अहिले यतै केन्द्रित भएको छु ।
नशानशामा क्रिकेट बगेको मान्छे हुँ, क्लब किन्ने र ठूला लिग आयोजना गर्ने दिन आउँदैछन् । सबै कुरामा एकैपटक हात हाल्नु हुँदैन, धैर्यता राख्नुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।