मैले माया मार्न नसकेको श्रम स्वीकृति लिने बेला तिरेको त्यो १५ सय कसले फिर्ता देला !

 जेठ १०, २०८० बुधबार १२:१९:२ | महेश्वर नेपाल
unn.prixa.net

झट्ट सुन्दा कुरा १५ सयको हो । तर एउटा श्रमजीवीका लागि १५ सय पनि निकै महत्त्वपूर्ण हो र यो भोगाई मैले १५ सय रुपैयाँका निम्ति पाएको हो ।

गएको जनवरी २० तारिखमा मेरो आफन्तको  पुनः श्रम स्वीकृति  लिइदिने क्रममा कनेक्ट आइपिएसको च्यानल प्रयोग गरेँ । पहिलेजस्तो श्रम स्वीकृति गर्न पनि कार्यालय धाउन नपर्ने र पैसा पनि कनेक्ट आइपीएस, इसेवाजस्ता माध्यमको प्रयोग गर्न मिल्ने सरकारी व्यवस्था नै छ ।

जसअनुसार मैले पनि श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार कल्याणकारी कोषमा कनेक्ट आइपीएसमार्फत १५ सय रुपैयाँ भुक्तानी गरेको थिएँ । 

तर, तिन दिनसम्म पनि वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली फेमिस सिस्टममा रकम जम्मा गरेको भौचर अपडेट भएन । मेरो रकम काटिइसकेको छ तर सिस्टममा पैसा तिरेको नदेखिएपछि मैले वैदेशिक रोजगार कार्यालय ताहचलमा फोन गरेँ ।

त्यहाँको कर्मचारीले आइटी शाखामा फोन ट्रान्सफर गरिदिए । आइटीमा कुरा गर्दा कनेक्ट आइपिएसमार्फत भुक्तानी गरिएको रकमको भौचर फेमिसको साइटमा अपडेट नहुने भएकाले खल्ती या इसेवामार्फत रकम भुक्तानी गर्नुहोस् भन्नुभयो ।

मैले पुनः इसेवाबाट रकम तिरेर मेरो आफन्तको पुनः श्रम स्वीकृति लिइदिएँ । श्रम स्वीकृति प्राप्त भयो । तर मैले यसअघि तिरेको १५ सय रुपैयाँ बाँकी नै थियो ।

मैले कनेक्ट आइपिएसमा फोन गरेर आफ्नो समस्या बताएँ र इमेल गरेँ । कनेक्ट आइपिएस टिमले त्यो इमेल वैदेशिक रोजगार विभागको सूचना अधिकारीलाई फरवार्ड गरिदिए । 

मैले ताहाचल कार्यालयमा कनेक्ट आइपिएसमार्फत तिरेको पैसो कहाँबाट फिर्ता पाउँछु भनी सोध्दा उहाँहरूले यकिन जवाफ दिन सक्नु भएन ।

यताबाट उता, अनि फेरि उताबाट यता फोन ट्रान्सफर गर्ने मात्र काम भयो । मैले वैदेशिक रोजगार विभागमा फोन गरेँ । त्यहाँका महानिर्देशकसँग पनि पैसा फिर्ता कहाँबाट  फिर्ता हुन्छ भनेर साधेँ । तर उहाँले पनि यकिन जवाफ दिन सक्नुभएन । 

फेरि पनि आइटी शाखाका प्रमुखको नम्बर दिनुभयो आइटी शाखाका प्रमुखसँग बुझ्दा उहाँलाई पनि थाह रहेनछ र वैदेशिक रोजगार बोर्डमा फोन गर्न भन्नुभयो । मैले बोर्डमा फोन गरेँ । बोर्डका जिम्मेवार व्यक्ति पनि नयाँ नयाँ भएको भन्दै पुराना एक कर्मचारीलाई फोन दिनुभयो ।  ती पुराना कर्मचारीले मेरो फोन नम्बर मागे र बुझेर खबर गर्छु भने । तर आजका मितिसम्म उहाँको फोन आएको छैन । 

छ  महिना बित्यो तर न कसैले इमेलको रेस्पोन्स गर्छन् न यसो गर्नुहोस् भनेर बताइदिन्छन् ।  यस बिचमा कनेक्ट आइपिएसले फोन गरेर केही रेस्पोन्स आएमा खबर गछौं भनेको छ । 

केही सीप नलागेर गत हप्ता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थापना गरेको श्रम कल सेन्टरमा व्हाटस एप मार्फत सबै विवरणसहित मेसेज गरेँ । ११४१ नम्बरमा फोन पनि गरेँ । कल सेन्टरको टिमले फोन गरे र मेरो त्यो १५ सय रुपैयाँ पैसा फिर्ता नहुने बताए । 

त्यसपश्चात् मैले के कति कारणले पैसा फिर्ता नहुने र त्यसो भन्ने कर्मचारीको नाम पाउँ न भनेर सोधेँ । कल सेन्टरका कर्मचारीले थप बुझेर जानकारी गराउँछु भनेर भन्नुभयो । तर आज २ महिना बितिसक्यो फोन आएन ।

त्यसपछि कल सेन्टरको टिमले हामी थप जानकारी लिएर खबर गर्छौ भन्नुभएको पनि आज महिना दिन बित्न लाग्यो । तर फोन आएको छैन । 

यति सानो कुरा किन श्रम सचिवलाई फोन गर्नु  भनेर सरकारका सम्बन्धित निकायमा इमेल गरेँ । तर कसैले पनि इमेलको जवाफ दिनुभएन । अन्त्यमा श्रम सचिवलाई बाध्य भएर आफ्नो समस्या राखेँ । 

उहाँले भर्खरै सरुवा भएर ताहाचल कार्यालयको जिम्मेवारी सम्हाल्नुभएकी पार्वती अर्यालको नम्बर दिनुभयो । उहाँलाई दुई पटक फोन गरेँ तर उठेन । व्हाटसएपमा एउटा मेसेज गरेँ तर त्यसको पनि जवाफ केही आएको छैन । 

कुरो १५ सयको हो । यती रकम त हो नि भनेर मनले माया मार्न दिएको छैन । पैसाको भन्दा बढी त सरकारी सिस्टम देख्दा दिक्क लागेको छ ।

श्रमिकले यस्तो सानो समस्याको समाधान खोज्न खै कहाँ कहाँ जानुपर्छ होला ?

2 Comments

  • Buddharaj

    May 25, 2023, 8:15 a.m.

    Connect ips द्वारा तिरिएको ६२५ रुपियाँ मैले पनि फिर्ता पाउनु छ। पहिलो चोटी server error देखिए पछि पुनः तिरेको थिए। त र अकाउन्ट बाट २ पटक नै पैसा काटिएको रहेछ। जब कि पैसा काटिएको भन्ने message पछि एकसाथ प्राप्त भयो। अब भन्नुहोस् त्यो रकम मेरो अकाउन्ट मा किन फिर्ता भयन? किन कि सरकार चोर हो।

  • Subhadra Shrestha

    May 24, 2023, 3:06 p.m.

    Tyo 1500 ta phone gardaima ra taakita gardaima sakyo hola, ho yaha system ko kura gareko ! yasto kurama sarkari nikayako kahile po dhyan jala ra khai

तपाईको प्रतिक्रिया