इरानद्वारा इजरायलमा ड्रोन र क्षेप्यास्त्र आक्रमण, मध्यपूर्वमा शान्ति कायम गर्न संयुक्त राष्ट्र सङ्घको अपील

 बैशाख २, २०८१ आइतबार ९:३५:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानले इजरायलमा दुई सयभन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ । रातिको पौने २ बजेदेखि शुरु भएको आक्रमणमा दुई सय भन्दा बढी ड्रोन र क्षेप्यास्त्र प्रहार भएको र तीमध्ये केहीलाई अमेरिकी सेनाले र केहीलाई इजरायलको प्रतिरक्षा प्रणालीले नष्ट गरिदिएका इजायली अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इरानको सेना इस्लामिक रेभोल्युशनरी गार्ड कोर (आईआरजीसी) ले पनि आक्रमण गरेको स्वीकार गरेको छ । एक हजार आठ सय किलोमिटर टाढा रहेको इरानबाट इजरायलको जेरुसलमतर्फ केही क्षेप्यास्त्रहरु आइरहेका पनि इजरायलले जनाएको छ । इरानको आक्रमणबाट इजरायलका केही सैन्य संरचनाहरुमा क्षति समेत पुगेको अन्तर्राष्ट्रिय संचारमाध्ययमहरुले जनाएका छन् ।

सिरियामा इजरायली आक्रमणमा परी इरानी कन्सुलेट मारिएको झन्डै दुई हप्तापछि यो आक्रमण भएको हो । गएको चैत १९ गते इजरायलले सिरियाको दमास्कसमा रहेको इरानको राजदूतावासमा हवाई आक्रमण गरेको थियो । जसमा इरानी सेनाका ब्रिगेडियर जनरल मोहम्मद रेजा जहेदी सहित सात जनाको ज्यान गएको थियो । त्यही घटनाबाट रिसाएको इरानले आक्रमण शुरु गरेको हो ।

संयुक्त राष्ट्र सङ्घका लागि इरानी मिसनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै इजरायलमा इरानको आक्रमण संयुक्त राष्ट्र सङ्घको घोषणापत्रमा उल्लेख भएको आत्मरक्षा अनुरूप भएको दाबी गरेको छ ।

इरानले आक्रमण गरेसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलप्रति अमेरिकाको पूर्ण समर्थन रहेको बताउनुभएको छ । बाइडेन र इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूबीच टेलिफोनवार्ता भएको छ । क्यानडा र बेलायतले पनि इरानी आक्रमणकोे विरोध गरेका छन् ।

संयुक्त राष्ट्र सङघका महासचिव एन्टोनियो गुटेरेसले विज्ञप्ति निकालेर मध्यपूर्वमा तुरन्त शान्ति कायम गर्न आग्रह गर्नुभएको छ । इजरायलमा इरानको आक्रमणको विषयबारे आजै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्दै छ ।

पालैपालो अध्यक्षता हुने बैठकको यस पटको अध्यक्ष संयुक्त राष्ट्र सङ्घका लागि माल्टाको मिसनले आपतकालिन बैठकबारे जानकारी गराएको हो ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया