भारतले नेपाली चियाको निर्यात रोक्यो, गम्भीर सङ्कट निम्तिने चिया उद्यमीको चिन्ता

 बैशाख ८, २०८१ शनिबार ७:२२:४५ | रासस
unn.prixa.net

फाइल तस्बिर

झापा – भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वी नाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया हिजो भारतले रोकेको हो ।

चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिनुभयो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताउनुभयो ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईंले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको प्रतिक्रिया दिनुभयो । तत्काल यसको समाधान नखोजिए नेपाली चिया उद्योग सङ्कटमा फस्ने उहाँको भनाइ छ ।

चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो । नेपालबाट सिटिसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदै आएको छ ।

नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ । निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ । चिया व्यवसायीकाअनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन । भारतको पानीटङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन ।

भारतको कोलकाता, दिल्ली, पटनालगायत ठाउँका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया