‘१६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तारलाई विशेष जोड’

 बैशाख १३, २०८१ बिहिबार १५:३६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको दाबी गर्नुभएको छ ।

आज राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई काठमाण्डौमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यवसायिकीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताउनुभयो । आर्थिक समृद्धिको संवाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात् गर्दै सहकारी, सामुदायिक एवम् गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अङ्गीकार गरेको उल्लेख गर्दै उहाँले सोच, लक्ष्य र लगानीको अनुमान उपयुक्त हुनेगरी योजना तयार हुने विश्वास व्यक्त गर्नुभयो ।

योजना सफल कार्यान्वयनका लागि तीनै तहका सरकारको सहकार्य, सहयोग र समन्वय अपरिहार्य रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले पर्याप्त लगानी तथा सार्वजनिक खर्च जुटाउनका लागि सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकार, निजी क्षेत्र, सहकारी र विकास साझेदारलगायतका सबैको सहकार्य र प्रभावकारी समन्वयबाट योजनाले लिएको औसत आर्थिक वृद्धि हासिल हुनुका साथै अन्य सामाजिक तथा पर्यावरणीय लक्ष्य हासिल हुनेमा आफू आसावादी रहेको उहाँकाे भनाइ छ ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डाक्टर प्रकाशशरण महतले देशको आर्थिक विकासमा प्राथमिकता प्राप्त आयोजना छनोट गरेर जानुपर्नेमा जोड दिँदै आयोजना छनोट र बजेट विनियोजनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडाले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गएको उल्लेख गर्दै कम लगानीबाट बढी प्रतिफल लिने नीति अख्तियार गर्न सुझाव दिनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठले आयोगलाई सबल बनाउन सकेको खण्डमा मात्र १६ औँ योजनाका रणनीति र कार्यनीति कार्यान्वयनका लागि सहज हुने धारणा व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया