प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र नियन्त्रणमा लिएको इजरायली सेनाको घोषणा

 बैशाख २५, २०८१ मंगलबार १५:२१:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली सेनाले प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । रफाहमा हमास विद्रोहीहरू रहेको शङ्कामा इजरायली सेनाले हिजो रातारात एक लाख जना शरणार्थीलाई निकालेर हमला थालेको थियो ।

रातभरको हमलामा २० जना हमास लडाकु मारिएको र तीन वटा सुरुङ भत्किएको इजरायलले जनाएको छ । प्रत्यक्षदर्शीले रातभर इजरायली सेनाले अन्धाधुन्ध मिसाइल र बम हानेको बताएका छन् । हिजो भाग्न नसकेका कैयाैँ नागरिक पनि मारिएको शङ्का छ । पूर्वी रफाहका धेरैजसो घर भत्किएका छन् । इजरायली झण्डा फहराउँदै सैनिक ट्याङ्क अहिले रफाहमा घुमिरहेका छन् ।

इजिप्टको सीमा नजिकै रहेको रफाह क्रसिङ अब इजरायली नियन्त्रणमा आएसँगै मानवीय सहायताका सामग्रीको आपूर्ति ठप्प भएको छ । रफाह क्रसिङ नै अहिलेसम्म सहायता सामग्री पुर्‍याउने एकमात्र मार्ग थियो । गाजाबाट विस्थापित भएका झन्डै १५ लाख जना शरणार्थी रफाहमा रहेकाले त्यहाँ आक्रमण नगर्न विश्वव्यापी दबाब रहे पनि इजरायलले पूर्व रफाहबाट आक्रमण थालेको हो ।

हिजो हमासले युद्धविरामका लागि सर्तहरू पालना गर्न सहमत भएको बताएपछि पनि इजरायलले आक्रमण गरिरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

यसैबीच प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घीय एजेन्सी यूएनआरडब्ल्यूएले इजरायली सेनाले रफाह क्रसिङ कब्जा गरेपछि सहायता सामग्रीको चरम अभाव हुने चेतावनी दिएको छ ।

पछिल्लो ४८ घण्टादेखि सहायता सामग्री बोकेका गाडी रफाह प्रवेश गर्न नपाएको भन्दै यूएनआरडब्ल्यूएले नसोचेको दुर्भाग्य भोग्नुपर्ने चेतावनी दिएको छ । एजेन्सीकी प्रवक्ता लुइस वाटरिजले गाजाका नागरिकको स्वास्थ्यमा खतरा रहेको बताउँदै इजरायलले न्यूनतम मानवीयताको ख्याल गर्नुपर्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया