ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि

 वैशाख २९, २०८१ शनिबार ९:८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – ललितपुरमा आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । आज रथयात्राको पहिलो दिन मच्छिन्द्रनाथको रथलाई दिउँसो ४ बजेपछि पुल्चोकबाट तानेर गाबहालमा पुर्‍याइनेछ । यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगलमा निमार्णाधीन रथमा रथारोहण गरिनेछ ।

त्यसपछि मीननाथको रथलाई टंगलबाट तानेर पुल्चोक पुर्‍याइएपछि मात्र रातो मच्छिन्द्रनाथको रथलाई मीननाथको रथको पछि लगाएर पुल्चोकबाट तानिनेछ । आज मात्र मीननाथको रथलाई अघि लगाएर तानिनेछ । भोलिदेखि मीननाथको रथलाई मच्छिन्द्रनाथको रथको पछि लगाएर तानिने चलन छ ।

आज गाबहालका बासिन्दाहरुले छवयालाभू मनाइरहेका छन् भने अहिले मच्छिन्द्रनाथको दर्शनका लागि पुल्चोकमा भक्तजनको घुइँचो लागेको छ ।  आज रथ तानिने भएकोले मच्छिन्द्रनाथको रथमा हरियो धूपी लगायतले सिँगारपटार गर्ने काम हुनेछ ।

रथलाई जात्रा अवधिभर ललितपुरको विभिन्न टोलमा घुमाउने प्रचलन रहेको छ । रथ तान्नुअघि र गन्तव्यमा पुगेपछि गुरुज्यूको पल्टनबाट सलामी दिने चलन छ । मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव, काठमाण्डौका तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका किसान ललितचक्रले रातो मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट ल्याएको किंवदन्ती छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया