‘बजारमा अचाक्ली भाउ बढेको छ, राष्ट्र बैंकले के आधारमा कम देखाउँछ ?’

 जेठ १, २०८१ मंगलबार ७:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

नेपाल राष्ट्र बैंकले गएको आइतवार चालू आर्थिक वर्षको नौ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्‍यो । तथ्याङ्कअनुसार साउनदेखि चैतसम्मको नौ महिनामा उपभोक्ता मुद्रास्फीति अर्थात् उपभोक्ता मूल्यवृद्धि ४ दशमलव ६१ प्रतिशत रहेको छ ।

उपभोक्ताले ढाडै सेक्ने गरी महँगी बढिरहेको बताए पनि राष्ट्र बैंकले भने समग्रमा जम्मा साढे चार प्रतिशत हाराहारी मूल्यृवृद्धि भएको जनाएको छ । बजारमा बढिरहेको र भाउ र राष्ट्र बैंकको तथ्याङ्कबीच तालमेल नदेखिएको भन्दै उपभोक्ता र खुद्रा व्यापारीले गुनासो गरेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका–७ घर भई अहिले काठमाण्डौको बूढानीलकण्ठ बस्ने चन्द्र शिवाकोटी महँगीले गर्दा छाक टार्न गाह्रो हुने अवस्था आएको बताउनुहुन्छ । ‘सरकारले तथ्याङ्कमा एकथोक मूल्य देखाइदिन्छ, तर वास्तवमा महँगीले हामीलाई हैरान बनाएको छ, आम्दानी बढ्दैन, हरेक वर्ष महँगी मात्रै बढ्छ ।’ शिवाकोटीले भन्नुभयो ।  यो भोगाई र दुखेसो उहाँको मात्रै होइन, धेरैजसो नेपाली नागरिकको हो । हुनेखानेलाई त खासै समस्या छैन, तर हुँदाखाने अनि दिनभरी मजदुरी गरेर बेलुका चुल्हो बाल्नेहरुलाई भने महँगीले धुरुक्कै रुवाएको छ । पेटभरी खान नपुगेर अड्कलेर मात्रै खानेहरु धेरै छन् । उपभोक्तालाई सोध्यो भने पोहोरोको तुलनामा केही वस्तुमा महँगी दोब्बरले बढेको र धेरै वस्तूमा ५० प्रतिशत भन्दा धेरैले बढेको अनुभव सुनाउँछन् ।

तर राष्ट्र बैंकको तथ्याङ्कले भने समग्रमा उपभोक्ता मूल्यवृद्धि ४ दशमलव ६१ प्रतिशत र त्यसभित्र पनि खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५ दशमलव २१ प्रतिशत रहेको देखाउँछ ।  राष्ट्र बैंककाअनुसार मरमसला उप–समूहको भाउ साढे २२ प्रतिशतले र तरकारीको भाउ जम्मा १७ प्रतिशतले बढेको छ । तर अचम्मको कुरा, राष्ट्र बैंकले घ्यू तथा तेलको मूल्य पोहोरको तुलनामा १० दशमलव १० प्रतिशतले घटेको देखाएको छ । तथ्याङ्कमा भाउ घटेको कुराले उपभोक्ता र खुद्रा व्यापारी अचम्ममा परेका छन् । नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र बज्राचार्य भन्नुहुन्छ, ‘बजारमा मूल्य निकै आकासिएको छ, दाल र तेलमा २० प्रतिशत भन्दा धेरै भाउ बढेको छ, राष्ट्र बैंकले सबै वस्तुलाई एउटै डालोमा राखेर मुल्यवृद्धिको तथ्याङ्क निकाल्छ, यो कुरा बजारको वास्तविक अवस्थासँग मेल खाँदैन ।’, बज्राचार्यले भन्नुभयो, ‘कहिलेकाहीँ त मलाई महँगीको तथ्याङ्क नाटक जस्तो लाग्छ ।’

बजारमा महँगीको अवस्था

कालिमाटी फलफूल तथा तरकारी बजारमा २०७९ सालको चैत र गएको चैतको ९९ थरी तरकारीको भाउ तुलना गर्ने हो भने पनि महँगीको वास्तविक अवस्था थाहा हुन्छ । ९९ थरी तरकारीमध्ये ४२ वटाको भाउ घटेको छ, सबैभन्दा धेरै ६४ प्रतिशतसम्म घटेको छ । तर ५७ वटाको भाउ बढेको छ, सबैभन्दा धेरै १ सय ८८ प्रतिशतसम्म भाउ उकालो लागेको छ । पाँच थरी तरकारीको भाउ १ सय प्रतिशत भन्दा धेरैले र १४ थरी तरकारीको ५० प्रतिशत भन्दा धेरैले भाउ बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यस्तै, खुद्रा बजार सङ्घकाअनुसार पोहोर र अहिले मोटा चामलकै भाउ किलोमै २० रुपैयाँले बढेको छ, रहरको दाल प्रतिकिलोग्राम २ सय ५ रुपैयाँबाट महँगीएर तीन सय रुपैयाँँ पुगेको छ । खाने तेलको भाउ पनि २० प्रतिशत भन्दा धेरैले बढेको छ । राष्ट्र बैंकले एकथरी तथ्याङ्क निकाले पनि बजारको अवस्था फरक रहेको कुरा बजारका मूल्यसूचीले नै प्रष्ट पार्छन ।

खुद्रा पसलेलाई समेत समस्या

महँगी चर्को गरी बढ्ने तर राष्ट्र बैंकले थोरै मात्रै महँगी बढेको तथ्याङ्क प्रकाशित गर्दा उपभोक्ता मात्र नभएर खुद्रा व्यापारीलाई पनि समस्या भएको बताउनु हुन्छ, नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र बज्राचार्य । ‘राष्ट्र बैंकले मूल्य खासै नबढेको तथ्याङ्क निकाल्छ तर हामी कहाँ होलसेल र उत्पादकहरुबाटै महँगोमा सामान आईपुग्छ । मूल्य खासै नबढेको समाचार सुन्ने/हेर्नेहरुले त खुद्रा व्यापारीले नै ठगेको शङ्का गर्छन ।’ बज्राचार्यले भन्नुभयो ।

अहिलेकै अवस्था रहिरहेमा नेपालमा गरिब र न्युन आय भएको वर्ग मात्र नभई मध्यम वर्गलाई समेत दैनिकी धान्न मुस्किल हुने बज्राचार्यको भनाई छ । बजारको वास्तविक अवस्थालाई देखाउनेगरी राष्ट्र बैंकले तथ्याङ्क निकाल्नुपर्ने उहाँको सुझाव छ । ‘बजारको अवस्था अनुसार भाउ बढेको देखाउँदा सरकारलाई अफ्ठेरो पर्ने भएर होला, वास्तविकता भन्दा कम मात्रै मूल्यवृद्धि तथ्याङ्कमा देखाएको जस्तो लाग्छ, सबै वस्तुको भाउलाई एउटै डालोमा नराखी छुट्टाछुट्टै राखेमा केही हदसम्म वास्तविकता देखिन सक्छ ।’ नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र बज्राचार्यले भन्नुभयो ।
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया