आउँदो ५ वर्षमा नेपालको जीडीपी १ सय खर्बभन्दा माथि पुर्‍याउने १६ औँ योजनाको लक्ष्य

गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १२ प्रतिशतमा झार्ने

 जेठ २, २०८१ बुधबार १८:२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय योजना आयोगले अबको पाँच वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपी एक सय खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ । आयोगले १६ औँ आवधिक योजनाको लक्ष्यहरू सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५/०८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन एक सय तीन खर्ब सात अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको जानकारी गराएको हो ।

चालु आर्थिक वर्ष जीडीपी ५७ खर्ब माथि पुग्ने अनुमानका आधारमा पाँच वर्षमा एक सय तीन खर्ब सात अर्ब रुपैयाँ पुग्ने लक्ष्य राखेको आयोगका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।

१६ औँ योजनाले आर्थिक वर्ष २०८५/०८६ मा नेपालको आर्थिक वृद्धिदर सात दशमलव तीन प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । यस्तै पाँच वर्षपछि नेपालीको प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्‍याउने १६ औँ योजनाको लक्ष्य छ । अहिले नेपालीको प्रतिव्यक्ति आय एक हजार चार सय ५६ अमेरिकी डलर रहेको छ ।

यसैगरी गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य रहेको प्रवक्ता भुसालले बताउनुभयो । १६ औँ योजनाले मूल्य वृद्धिदर पाँच प्रतिशतभित्र कायम राख्ने, औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पुर्‍याउने, बेरोजगारी दर पाँच प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ ।

१६ औँ योजनाले बिजुली उत्पादन ११ हजार सात सय ६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसङ्ख्यामा पुर्‍याउने र इन्टरनेट ९० प्रतिशत जनसङ्ख्यामा पुर्‍याउने लक्ष्य लिएको छ । त्यस्तै कृषि क्षेत्रमा २१ प्रतिशत योगदान र गैरकृषि क्षेत्रमा ७९ प्रतिशत पुर्‍याउने लक्ष्य योजनाले राखेको छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले देशको अर्थतन्त्रमा उत्पादन र रोजगारी न्यून भएकाले अहिले समस्या देखापरेको भन्दै १६ औँ योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया