एनसेलले ल्यायाे ‘सधैँ अन’ याेजना

 जेठ २, २०८१ बुधबार १८:३९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निजी क्षेत्रकाे टेलिकम्युनिकेशन सेवा प्रदायक कम्पनी एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससँगै अब ग्राहकले अनावश्यक रूपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नु नपर्ने कम्पनीले जनाएकाे छ ।

‘सधैँ अन’ नाम रहेको यस योजनाको मुख्य औचित्य नेपाली ग्राहकलाई आफ्नो ब्यालेन्स सकिने डर नभई सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्‍याउनु रहेकाे एनसेलले बताएकाे छ ।

‘उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदैछन् र मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै– किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरू अनलाइनबाटै गर्ने भएकाले उनीहरूलाई ‘सधैँ अन’ अर्थात् अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक छ’, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले भन्नुभयाे ।

नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य देशहरू सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्‍याउनु याे योजनाको अवधारणा रहेको एनसेलले जनाएकाे छ । अहिले चाहे त्यो एनसेल होस् वा नेपालका अरू सेवा प्रदायकका प्लानहरू हुन् इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहककाे जानकारीविना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोगबापत ब्यालेन्स कटाई दिइरहेको हुन्छ ।

यही समस्यालाई एनसेलले तत्काल समाधान गर्न चाहेको विज्ञप्तिमा उल्लेख छ । ‘सधैँ अन’ मार्फत एनसेल ग्राहकका ब्यालेन्स सकिने समस्या समाधान गर्न प्रतिबद्ध रहेको र ग्राहकका सुझावलाई विशेष ध्यानमा राखेर डेटा प्याकहरूलाई सरल बनाउँदै पाँच दर्जन बढी त्यस्ता डेटा प्याकहरूलाई २० वटामा झारेको छ ।

‘यो योजनाको अझ ठूलो उद्देश्य भनेको नेपाली ग्राहकलाई फाइभजीका लागि तयार पार्नु रहेको एनसेलले जनाएकाे छ । फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ । ६० वटाभन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आइसकेको छ । हामी चाहन्छौँ भारतपछि नेपाल व्यावसायिक रूपमा फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एशियाको दोस्रो देश बनोस् । तर त्यसका लागि हामीले एउटा महत्त्वपूर्ण पहिलो कदम चाल्नुपर्छ र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोबाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ । यसको मतलब, तपाईंको डेटा ‘सधैँ अन’ हुनुपर्छ’, कायुमोभले भन्नुभयाे ।

फाइभजीको अर्थ केवल द्रूत इन्टरनेट मात्र होइन, यसको वास्तविक अर्थ भनेको अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता हो जसले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनलगायतका क्षेत्रहरूको विकासमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ । यसले नै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्ने एनसेलले जनाएकाे छ ।

मोबाइल ब्रोडब्यान्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औँ स्थानमा छ । सन् २०२६ सम्ममा नेपाल विश्वको शीर्ष ५० मा पर्न सफल होस् भन्ने चाहना एनसेलले राखेको छ ।

नेपाली मोबाइल फोन प्रयोगकर्ताहरूको आवश्यकता र माग बढ्दै गए पनि दैनिक डेटाको उपयोग एकदमै न्यून छ– १० मध्ये दुई जनामात्रै नेपालीले नियमित रूपमा मोबाइल डाटा प्रयोग गर्छन् । साथै औसत प्रति ग्राहक प्रति महिना डाटा खपत मात्र चार जीबी रहेको छ, जुन अन्य छिमेकी देशहरूको तुलनामा कम हो ।

‘सधैँ अन’ मा के छ ?

एनसेलको ‘सधैं अन’ अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरि तीन वटा समूहमा आठ वटा विभिन्न आकर्षक प्लानहरू सञ्चालनमा ल्याएको छ । यसमा सात दिनको समयसीमा रहेको ९८ रुपैयाँबाट शुरु हुने प्याकदेखि २८ दिन समयावधि रहेको एक हजार चार सय ९९ रुपैयाँ पर्नेसम्मको विभिन्न प्लानहरू रहेका छन् । हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बन्डलिङ रहेको र यी प्लानहरू ग्राहकलाई विद्यमान शुल्कभन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुने एनसेलकाे दाबी छ । यसका साथै ‘सधैँ अन’ शुरु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्क डेटा पनि प्राप्त गर्ने विज्ञप्तिमा उल्ले खछ ।

उदाहरणका लागि यदि कुनै ग्राहकले ९९ रुपैयाँको बेसिक प्लान शुरु गरेमा दुई जीबी डेटा, एक जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो सात दिनका लागि मान्य रहनेछ । त्यस्तैगरी चार सय ९९ रुपैयाँको बेस्ट प्लान शुरु गर्ने ग्राहकले १२ जीबी डेटा, पाँच जीबी निःशुल्क सोसल मिडिया डेटा, चार सय ४९ मिनेट अल नेपाल कल टक टाइम र चार सय ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनका लागि मान्य रहनेछ ।

आफ्नो आवश्यकताअनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरू पनि ल्याएको छ । उदाहरणका लािग यस प्लानअन्तर्गत एक हजार चार सय ९९ रुपैयाँको प्याक शुरु गर्ने ग्राहकले एक सय जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन् । यो प्याकअन्तर्गतको सेवाहरू २८ दिनका लागि मान्य रहन्छ ।

ग्राहकले एस्ट्रिक्स १२३ ह्यास डायल गरि सजिलै आफ्नो आवश्यकताअनुसार कुनै पनि ‘सधैँ अन’ प्लान लिन सक्ने एनसेलले जनाएकाे छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया