२ घण्टा ढिलाे गरी शुरु भएकाे संसद् बैठकमा पनि कांग्रेसकाे नाराबाजी

 जेठ ३, २०८१ बिहीबार १८:१२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज दिनभरि पटक–पटक छलफल र सहमतिको प्रयास गर्दा पनि संसद् बैठक चल्न सकेको छैन । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने मागबाट नेपाली कांग्रेस टसमस नभएपछि आज पनि सहमति जुट्न नसकेको हो ।

आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधि सभाको बैठक सत्तारूढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि दिउँसो ४ बजेका लागि सारिएको थियो । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग टेलिफोन वार्तापछि बैठक निर्धारित समयभन्दा केही पछि सारिएको थियो । झन्डै दुई घण्टा ढिलाे गरी शुरु भएकाे बैठकमा पनि कांग्रेस सांसदले नाराबाजी गर्दै अवराेध गरिरहेका छन् ।

दिउँसो प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग छलफल गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिले रवि लामिछानेलाई संसद्को रोस्टममा गएर बोल्न पाउनुपर्ने र त्यसपछि संसदीय समिति गठनको प्रक्रियामा जान सकिने माग गरेको थियो । तर कांग्रेसले भने रवि लामिछानेमै केन्द्रित रहेर पहिले संसदीय छानबिन समिति गठन गरेपछि मात्रै लामिछानेलाई बोल्न दिने अडान राखेपछि दिनभरको प्रयास असफल भएको हो ।

कांग्रेसले उपप्रधानमन्त्री लामिछाने केन्द्रित अनुसन्धानका लागि समिति बनाउने अडान लिएको छ । रास्वपाले भने सबै सहकारी घोटाला प्रकरणको एउटै समिति बनाउनुपर्ने र त्यस्तो समिति लामिछाने केन्द्रित हुन नहुने अडान लिएको छ ।

सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरोधलाई निरन्तरता दिने निर्णय गरेकाे हाे । सहमति नजुटेपछि गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा आक्रोशपूर्ण स्टाटस लेख्नुभएको छ । उहाँले आफूले एकपटक बोल्न पाउनुपर्ने मात्रै माग गरेको तर कांग्रेसले घिनलाग्दो गरी मिडिया ट्रायल गरिरहेको आरोप लगाउनुभएको छ ।

कांग्रेस र रास्वपाबीचको विवादका कारण सरकारले अस्ति मंगलवार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल हुन पाएको छैन । यही जेठ १५ गते सरकारले आउँदो वर्षको बजेट संसदमा पेश गर्नुपर्छ । अहिलेकै अवस्था रहिरहेमा बजेटसमेत प्रभावित हुने देखिएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया