मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

 जेठ ५, २०८१ शनिबार ११:२८:३० | रासस
unn.prixa.net

तस्बिर : रासस

दाङ – कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा हुनुहुन्छ । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आउनुभएको छ । मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ । आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा उहाँ खुशी व्यक्त गर्नुहुन्छ ।

वित्तीय संस्थाबाट  तीन लाख रुपैयाँ कर्जा लिएर शुरु गरेको सृजनशील मूर्ति उद्योगले अहिले मगर परिवारलाई आत्मनिर्भरसमेत बनाएको छ । आफ्नो जीवन चित्रकला र मूर्तिकलामै समर्पित गर्न तथा यसैलाई जीविकोपार्जनको माध्यम बनाउन चाहेको उहाँ बताउनुहुन्छ । हालसम्मको अनुभवबाट आफ्नो कला जीविकोपार्जनको भरपर्दो माध्यम हुन्छ भन्ने विश्वास भएको मगरको भनाइ छ ।

‘जिल्लामा सङ्ग्रहालय र उद्यान बन्ने क्रम बढेको छ । ठूला होटल र पार्टी प्यालेसले पनि विशेष कलाको खोजी गर्न थालेका छन्’ उहाँले भन्नुभयोे, ‘आकर्षक भौतिक पूर्वाधार बढ्दै जाँदा कलाको बजार पनि फराकिलो हुँदै गएको छ । आफूले अहिले मागअनुसारको मूर्ति बनाउँदै आएको उहाँले बताउनुभयो ।’  यही व्यवसायबाट मगरले वार्षिक १३ लाख रुपैयाँको कारोबार गर्दै आएको बताउनु भयो । यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै नहुने उहाँ बताउनुहुन्छ ।

मगरले विभिन्न खालका मूर्ति निर्माणका लागि कच्चा पदार्थ बुटवलबाट ल्याउने गर्नुभएको छ । पछिल्लो समय यसको माग बढ्दै जाँदा व्यवसाय राम्रो हुँदै गएको उहाँको अनुभव रहेको छ । यहाँ उत्पादित मूर्ति दाङसहित रोल्पा, सल्यान, प्युठान, रुकुमलगायत जिल्लामा बिक्री गर्न लैजाने गरिएको छ ।

मूर्तिकला व्यवसायमा महिलाको सहभागिता कमै देखिन्छ । तर पल्टुरामकी श्रीमती जानकी पनि लामो समयदेखि मूर्तिकला व्यवसायमै व्यस्त हुनुहुन्छ । उहासँगै श्रीमान् र छोराछोरी सबै सालिक तथा मूर्ति निर्माण गरिरहनुभएको छ । सन्तानले बुबाआमाको सिको पनि गरिरहेका छन् । आफ्नो रुचि र स्वध्ययनले छोराछोरी पनि मूर्तिकलामा लागेपछि मगर दम्पती खुसी हुनुहुन्छ ।

जानकीको दैनिकी शालिक तथा देवीदेवता र जनावरका आकर्षक मूर्ति तयार गर्नमा बित्छन् । उहाँको परिवारलाई नै मूर्ति बनाउन भ्याइनभ्याइ छ । पहिले पशुपालन गर्ने जानकी श्रीमानको मूर्तिकलाको सीप देखेर आफूले पनि सिको गरी श्रीमानकै जस्तै दिनभर मूर्ति निर्माण गर्नुहुन्छ । 

जानकी र पल्टुरामका सन्तान पनि मूर्तिकलाप्रति चासो राख्नुहुन्छ । सुदृढ र व्यावसायिक मूर्तिकार बन्न छोरी कृतिले यही सम्बन्धी उच्च शिक्षा हासिल गरिरहेको बताउनुहुन्छ बुबा पल्टुराम । उद्योगमा पत्थर, सिमेन्ट, मार्बल, फाइबरबाट मूर्ति निमार्णसँगै बिक्री भइरहेका छन् ।

न्यूनतम  तीन हजारदेखि अधिकतम तीन लाख रुपैयाँसम्ममा मूर्ति तयार हुन्छन् । कक्षा ९ मा अध्ययनरत छोरा प्रवीण पनि फुर्सदमा घरमै बुबाआमाको सिको गरिरहेका छन् । उनी चित्रकला र मूर्तिकला दुवै मन पराउँछन् । यसरी आफ्नो पेसा पुस्ता हस्तान्तरण गर्दै जाने र रुचि, ज्ञान सीपसहित मूर्ति व्यवसायमा लाग्ने हो भने परम्परागत पेसाको संरक्षणसँगै आर्थिकरुपमा सबल बन्न सकिन्छ  ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया