खोटाङका सहरमान विश्वकर्माको एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि...

 जेठ ५, २०८१ शनिबार १५:२८:३ | रासस
unn.prixa.net

रासस

खोटाङ – दिप्रुङचुइचुम्मा गाउँपालिका–७ टेम्माका एक सय दुई वर्षीय सहरमान विश्वकर्माको आँखाको शल्यक्रिया सफल भएपछि देख्न सक्ने हुनुभएको छ । ९८ वर्षको उमेरमा दुबै आँखाको ज्योति गुमाएका विश्वकर्माले फेरि आँखा देख्नुभएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले आयोजना गरेको शल्यक्रिया शिविरमा उहाँको दुबै आँखाको नि:शुल्क शल्यक्रिया भएको हो । तीन दिनसम्म चलेको आँखाको शल्यक्रिया शिविरमा एक सय तीन जनाको मोतियाबिन्दुको र ३९ जना अन्य समस्याका गरी एक सय ४२ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति सङ्घ, सगरमाथा चौधरी आँखा अस्पताल लहानका नेत्ररोग विशेषज्ञ डाक्टर दीवाकर चौधरीको नेतृत्वमा शल्यक्रिया शिविरका लागि खोटाङ पुगेको टोलीले सहरमानको दुवै आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरेको हो । दुई दिनअघि नातिको सहारामा आँखा शिविर आउनुभएका सहरमान अहिले कसैको सहाराबिनै हिँडडुल गर्नसक्ने हुनुभएको छ ।

शल्यक्रियापछि आँखाको दृष्टि खुलेसँगै उहाँले लौरो टेकेर खुशी हुँदै शिविर वरपर हिँडडुल गर्नुभयो । गुमेको आँखाको दृष्टि पुनः फर्किएपछि उहाँमा खुशीको सीमा छैन । ‘अहिले त हेर्न पाएँ, सबैलाई देख्न पाएँ मलाई हर्ष छ, मेरो मनकति रमाएको छ,’ उहाँले खुशी हुँदै भन्नुभयो ।

शल्यक्रियापछि पुनः संसार हेर्न पाएकाले अरुले पनि यसरी संसार देख्न सकून् भन्दै आर्शीवाद दिनुभयो । आँखा देखेपछि खुशीका आँसु झार्दै उज्यालो देखाउने सबैलाई उहाँले धन्यवाद दिनुभयो । 

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डाक्टर शैलेशकुमार मिश्रले सङ्घअन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको बताउनुभयो । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया