विकट चेपाङ बस्तीमा निःशुल्क मिटरसहित बिजुली पुग्याे, बिजुली नपुगेकाे घर खाेज्दै प्राधिकरण

 जेठ ६, २०८१ आइतबार १५:४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युतीकरण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ ।

प्राधिकरणले बिजुली पहुँच विस्तारका लागि मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ । देशभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत प्राधिकरणले विपन्न वर्गलाई निः शुल्क मिटर उपलब्ध गराएर बिजुली जडान गरिदिँदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिङ्गल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन ।

चितवनको इच्छाकामना गाउँपालिका–१ कालिङमा गरिएको शनिवार गरिएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँपालिकालाई पूर्ण विद्युतीकरण भएको घोषणा गर्नुभयो । साथै कार्यकारी निर्देशक घिसिङले गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायलाई निःशुल्क मिटर पनि वितरण गर्नुभयो ।

प्राधिकरणले इच्छाकामना गाउँपालिकाका सात वटा वडाहरुको विद्युतीकरणका चालू आर्थिक वर्षमा मात्र १५ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले सरकारले उपलब्ध गराएको बजेट, प्राधिकरणले कमाएको नाफा र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमार्फत सहुलियतपूर्ण ऋण लिएर देशलाई पूर्ण विद्युतीकरण गर्ने काम भइरहेको बताउनुभयो ।

‘७/८ वर्षअघि राष्ट्रिय प्रणालीबाट झन्डै ६० प्रतिशत जनसङ्ख्यामा मात्र बिजुलीको पहुँच पुगेको थियो, बिजुली पुगेको ठाउँमा पनि लोडशेडिङ थियो भने अन्य ठाउँ अन्धकारमै थिए, अहिले लोडशेडिङ अन्त्य भई इतिहास बनेको छ, ९५ प्रतिशत जनजङ्ख्यामा राष्ट्रिय प्रणालीको बिजुली पुगेको छ, शतप्रतिशत विद्युतीकरणका लागि ठेक्का सम्झौता सम्पन्न भई काम भइरहेको छ’, घिसिङले भन्नुभयो, ‘पहिले बिजुली चाहियो भनेर प्राधिकरणका कार्यलयहरूमा धाउनु पर्थ्याे भने अहिले बिजुली नपुगेको घर खोज्दै हामी हिँडेका छौँ, विकट क्षेत्रमा रहेको एउटा घरमा बिजुली पुर्‍याउन लाखौँ रुपैयाँ खर्च गरिएको छ, कुनै घरमा पनि छुट्नु भएन, छुटेको पाइएमा खबर गर्नुहोला ।’

बिजुली खपत बढाउन विद्युतीय चुलोको प्रयोग गरी ग्याँसलाई विस्थापन गर्न आग्रह गर्दै उहाँले जग्गाधनी पूर्जा नभएका सुकुम्बासीले बिजुली मिटर लिँदा राख्नु पर्ने एक हजार रुपैयाँ धरौटी रकम व्यवहारिक नदेखिएकाले यसलाई हटाउन आवश्यक निर्णय गरिने बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकालाई विभिन्न स्रोतबाट एक वर्षमा प्राप्त हुने बजेटभन्दा बढी रकम प्राधिकरणले इच्छाकामनाको विद्युतीकरणमा विनियोजन गरी काम अगाडि बढाएकाले पूर्णरूपमा विद्युतीकरण सम्भव भएको बताउनुभयो । अध्यक्ष गुरुङले सकुम्बासीले बिजुली जडान गर्दा राख्नु पर्ने एक हजार रुपैयाँ धरौटी रकम गाउँपालिकाले राखिदिने व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया