संसदमा गृहमन्त्री बोलेपछि गगन थापाको पत्रकार सम्मेलन, एक अर्कालाई आरोप–प्रत्यारोप

 जेठ ७, २०८१ सोमबार ६:२३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच आरोप–प्रत्यारोप भएको छ । हिजो संसद बैठकमा बोल्ने क्रममा लामिछानेले थापासहित कांग्रेस नेताविरुद्ध आरोप लगाएपछि थापाले पनि पत्रकार सम्मेलनमार्फत खण्डन गर्नुभएको छ ।

सहकारी ठगीमा संलग्न रहेको भन्दै आफूमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसका नेताविरुद्ध नै गृहमन्त्री लामिछानेले गम्भीर आरोप लगाउनुभएको हो । कांगेस सभापति  शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीमा अफर गरेको भन्दै लामिछानेले प्रश्न गर्नुभयो, ‘गृहमन्त्री हुँदा विरोध गर्ने तर प्रधानमन्त्रीको अफर ठीक हुने ?, हिजो डेढ वर्ष प्रधानमन्त्रीको अफर गरेको विषय एक्स्पायर भयो कि छैन ?’ यस्तै कांग्रेस महामन्त्री थापाले बाख्रापालनमा घोटाला गरेको, देउवा पत्नी आरजुले कैलालीको जग्गामा चलखेल गरेकोमा पनि छानबिन हुनुपर्ने लामिछानेले बताउनुभयो ।

यस्तै रातो पासपोर्ट काण्डमा धनराज गुरुङमाथि र रोलेक्स घडीमा नेता रामहरि खतिवडासम्मलाई छानबिनको दायरामा उहाँको भनाइ थियो । सञ्चारमाध्यममा समाचार आएकै आधारमा व्यक्ति केन्द्रित छानबिन समिति बनाउने हो भने यसरी समाचार आएका कांग्रेसका थुप्रै नेतामाथि छानबिन गर्नुपर्ने लामिछानेको माग छ ।

नयाँ दल र युवालाई अघि सारेको आफ्नो पार्टी रास्वपामाथि कांग्रेसले राजनीतिक दमन र राजनीति गरेको लामिछानेले आरोप लगाउनुभयो । सहकारी प्रकरणमा आफूले गल्ती नगरेको र संसदीय छानबिन समितिबाट नभागेको पनि लामिछानेको दाबी थियो ।

गृहमन्त्री लामिछानेले संसद बैठकमा बोलेलगत्तै कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्दै आफूमाथि लागेको आरोपबारे अनुसन्धान गर्न चुनौती दिनुभएको छ । एमालेले सहकारीको विषय नउठाउने र रास्वपाले गिरीबन्धुको विषय नउठाउने समझदारी भएको पनि थापाले आरोप लगाउनुभयो । सबै फाइल खोल्न चेतावनी दिँदै थापाले तर्साउने काम बन्द गर्न चुनौती दिनुभयो ।

संसद बैठकमा हिजो उपप्रधानमन्त्री लामिछानेको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले हिजोका लागि निर्धारित विषयहरु कार्यसूचीबाट हटाएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया