संसद् बैठकमा आज पनि कांग्रेसको नाराबाजी र अवरोध, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची प्रभावित

 जेठ ७, २०८१ सोमबार ११:५७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले आज पनि प्रतिनिधि सभाको बैठकमा अवराेध गरेको छ । गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गरेको हो ।

बैठक शुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरूले नाराबाजी शुरु गरेका हुन् । कांग्रेसका सांसदहरूको नाराबाजी नरोकिएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ ।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको संलग्नता देखिएकाले यो विषयलाई कुनै पनि बहानामा ढाकछोप गर्न नहुने निष्कर्ष निकालेको थियो । यदि संसद् चलाउने हो भने लामिछानेमाथि छानबिन गर्न समिति गठन गर्न पनि कांग्रेसले प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।

कांग्रेसको अडानका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदबाट विश्वासको मत लिने कार्यसूची पनि प्रभावित भएको छ । जनता समाजवादी पार्टी नेपाल फुटेपछि उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिनुभएको छ । त्यसैले आजको संसद् बैठकमा प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । कांग्रेसले सदन चल्न नदिएपछि प्रचण्डले विश्वासको मत लिने कार्यसूची नै प्रभावित भएको हो । प्रधानमन्त्री प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथोपटक विश्वासको मत लिन लाग्नुभएको हो ।

आजै बिहान राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बसेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

यसैबीच सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची प्रभावित हुनेगरी बैठक अवरोध नगर्न आग्रह गर्नुभएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले देशको कार्यकारी प्रमुखले आफ्नो बहुमत परीक्षण गर्छु भनेर राखेको प्रस्तावलाई अवरोध नगर्न आग्रह गर्नुभएको हो । दलहरूबीच जति विवाद हुँदा पनि कतिपय विषयमा संसद् चल्न दिने संसदीय परम्पराको ख्याल गर्न सभामुखले कांग्रेसलाई सुझाव दिनुभएको छ ।

‘देशको कार्यकारी प्रमुखले आफ्नो बहुमत परीक्षण गर्छु भनेर सम्मानित संसदमा प्रस्ताव गरेको अवस्थामा यसलाई प्रभावित बनाउनु हुँदैन । यसलाई गम्भीरतापूर्वक लिन म प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरूको ध्यानाकर्षण गराउँदछु’, बैठकमा सभामुख घिमिरले भन्नुभयो । उहाँले ‘भोलि आफू सत्ता पक्षमा पुग्दा विपक्षीले यस्तै गरेमा त्यो बेला के होला’ भन्ने विषय पनि ख्याल गर्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया