नेपालको ऋण झन्डै २४ खर्ब पुग्यो, हरेक नेपालीकाे भागमा ८२ हजार रुपैयाँभन्दा धेरै

 जेठ १०, २०८१ बिहीबार १५:१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखसम्म नेपालको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । अब नेपालको ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२ दशमलव शून्य दुई प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।

कुल ऋणलाई नेपालको अहिलेको जनसङ्ख्या दुई कराेड ९१ लाख ६४ हजार पाँच सय ७८ ले भाग गर्दा हरेक नेपालीको भागमा ८२ हजार एक सय ८८ रुपैयाँभन्दा धेरै ऋण पर्न आउँछ ।

२३ खर्ब ९७ अर्ब रुपैयाँमध्ये आन्तरिकतर्फ ११ खर्ब ८४ अर्ब र वैदेशिक ऋणको हिस्सा १२ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामै ९८ अर्ब आठ करोड रुपैयाँ ऋण थपिएको छ ।

वैशाख महिनामा मात्रै ११ अर्ब ६४ करोड रुपैयाँ ऋण थपिएको कार्यालयले जनाएको छ । समग्रमा यो वर्षको १० महिनामा सरकारले दुई खर्ब ६४ अर्ब रुपैयाँ ऋण लिएको छ । यो वर्षभरिमा सरकारले चार खर्ब ५२ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेको छ ।

यस्तै १० महिनामा सरकारले दुई खर्ब ३३ अर्ब रुपैयाँ साँवा र ब्याज भुक्तानी गरेको छ । साउनदेखि वैशाखसम्म एक खर्ब ६६ अर्ब रुपैयाँ सावाँ र ६६ अर्ब ७२ करोड रुपैयाँ ब्याज भुक्तानी गरिएको कार्यालयले जनाएको छ । यो वर्ष सरकारले ऋण तिर्नका लागि तीन खर्ब ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया