सहकारी ठगी प्रकरणले प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध

 जेठ ११, २०८१ शुक्रबार १५:३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेसलगायत विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध भएको छ ।

आजको बैठक शुरु हुनेबित्तिकै कांग्रेसलगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले सांसदहरूलाई आ–आफ्नो स्थानमा बसेर सहयोग गर्न पटक–पटक आग्रह गरे पनि विपक्षी सांसदहरूले भने आफ्नो माग सुनुवाइ नहुँदासम्म विरोध यथावत् रहने जानकारी गराए । सांसदहरूले आ–आफ्नो स्थानबाट उभिएर विरोध जारी राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगित गरेर अर्को बैठक जेठ १३ गते आइतवार बिहान ११ बजेका लागि तोक्नुभयो ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाएर कांग्रेसले संसदीय छानबिन हुनुपर्ने माग गरेको छ । संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष र विपक्षी दल सहमत पनि भइसकेका छन् । समितिको कार्यादेश बनाउन गठन गरिएको कार्यदलमा भने सहमति जुट्न सकेको छैन । संसदीय छानबिन समितिको कार्यक्षेत्र तोक्दा गृहमन्त्री लामिछानेको नाम राख्नुपर्ने कांग्रेसको अडान छ भने व्यक्ति विशेषको नाम राख्न नहुने सत्तापक्षको भनाइ छ ।

आजको बैठकमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची पनि थियो ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया